प्रहरी हिरासतबाट अडियो लिक र पत्रकार पक्राउबारे गृहमन्त्री तथा आईजीपीसँग जवाफ माग
- काठमाडौँ ।
- प्रहरी हिरासतबाट अडियो बाहिरिएको र पत्रकार पक्राउ परेको लगायतका पछिल्ला घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माग गरेको छ।
काठमाडौँ । प्रहरी हिरासतबाट अडियो बाहिरिएको र पत्रकार पक्राउ परेको लगायतका पछिल्ला घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माग गरेको छ। नेकपाका प्रमुख सचेतक तथा समिति सदस्य युवराज दुलालले सभापति हरि ढकाललाई पत्र लेख्दै गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी)लाई बैठकमा बोलाएर जवाफ माग्न आग्रह गरेका हुन्।
दुलालले सरकारी निकायका गैरकानुनी तथा अस्वाभाविक गतिविधिबारे सरकारलाई जवाफदेही बनाउन समितिको बैठक अविलम्ब बोलाउनुपर्ने बताएका छन्।
उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र त्यससँग जोडेर प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकार कुमार वेनले सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूको आधार के हो भन्ने प्रश्न उठाएका छन्। पत्रकार पक्राउ पर्ने र पछि रिहा हुने, तर सरकारले आफूलाई घटनाबारे जानकारी नभएको बताउने गरेको विषयमा पनि उनले आपत्ति जनाएका छन्।
“दिनप्रतिदिन राज्य एवं सरकारी निकायसँग जोडिएका अस्वाभाविक घटनाहरू भइरहेका छन्। यसबारे के भएको हो र किन सरकारी निकायहरू गैरकानुनी रूपमा चलिरहेका छन्?” दुलालले पत्रमा लेखेका छन्। “पत्रकार गिरफ्तार हुने र छोडिने, तर सरकारले आफूलाई थाहा नभएको भन्ने लगायतका गम्भीर सवालमा गृहमन्त्री र आईजीपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु राज्य व्यवस्था समितिको जिम्मेवारी हो।”
दुलालका अनुसार उनले बैठक बोलाउने विषयमा सभापति ढकालसँग कुराकानीसमेत गरेका छन्। आफ्नो मागमा सभापति सकारात्मक रहेको उनले बताए।
दुलालका भनाइअनुसार सभापति ढकालले सदस्यहरूको उपलब्धता हेरेर सम्भव भएसम्म चाँडै बैठक बोलाउने बताएका छन्। “मागलाई मैले सकारात्मक रूपमा लिएको छु। समिति सदस्यहरूको उपलब्धता हेरेर सम्भव भएसम्म चाँडै बैठक बोलाउँछु,” ढकालको भनाइ उद्धृत गर्दै दुलालले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






