नसर्ने रोग नियन्त्रणमा रोकथाम र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सरकार
- काठमाडौँ ।
- सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ।
काठमाडौँ । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले रोकथाम, जनचेतना र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिन लागिएको हो।
यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको थियो।
बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ। कार्ययोजना प्रभावकारी बनाउन सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय पनि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बैठकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने, नियन्त्रणका प्रयासमा स्थानीय तहसँग समन्वय गर्ने र विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने विषयमा छलफल भएको थियो। विशेषज्ञ चिकित्सकलाई देशमै टिकाइराख्ने उपायबारे पनि विचारविमर्श गरिएको कार्यालयले जनाएको छ।
सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिम कारकका रूपमा औँल्याउँदै बैठकले तिनको नियन्त्रण तथा नियमनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।
सन् २०३० सम्म नसर्ने रोगबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति नेपाल प्रतिबद्ध रहेको सरकारले जनाएको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






