पर्सामा एक महिनामा १११ अपराध दर्ता, लागुऔषध मुद्दामा २४ जना पक्राउ
- वीरगन्ज ।
- पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्।
वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानका दुई र अन्य प्रकृतिका चार घटना छन्।
अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन्। सो अवधिमा कर्तव्य ज्यानसम्बन्धी एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानका क्रममा प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ। अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जना पक्राउ परेका छन्। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको तथा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
गत महिनामा जिल्लाभर ४० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






