सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
- सिरहा ।
- सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ स्थित दरैया क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। गाँजा छ बोरामा राखिएको र टाउकोमा बोकेर लगिँदै गरेको प्रहरीले जनाएको छ। तौल गर्दा बरामद गाँजा ११० किलो ७६० ग्राम रहेको पाइएको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२, देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव छन्। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको एसपी थापाले जानकारी दिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






