स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २९ घाइते
- स्याङ्जा ।
- स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० वटा मोटरसाइकल, पाँच वटा जिप/भ्यान, दुई वटा बस र एउटा ट्रेलर ट्रक दुर्घटनामा परेका हुन्।
दुर्घटनामा पाँच पुरुष र एक महिलाको मृत्यु भएको छ। घाइतेमध्ये आठ जना गम्भीर छन्—चार पुरुष र चार महिला। अन्य २१ जना सामान्य घाइते भएका छन्। उनीहरूमा सात पुरुष, १० महिला, एक बालक र तीन बालिका छन्।
दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु दुवैले ट्राफिक नियम पालना गर्नुपर्ने शाहीले बताए। तीव्र गति नियन्त्रण गर्ने, हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्ने बानीले दुर्घटनाको जोखिम घटाउन सकिने उनको भनाइ छ।
शाहीका अनुसार ट्राफिक नियमबारे सचेतना फैलाउने, सवारीसाधनको निगरानी गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कामलाई निरन्तरता दिइएको छ। चालक र सर्वसाधारणको सहकार्यबाट सडकलाई सुरक्षित बनाउन सकिने भन्दै उनले सबैलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गरे।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






