सिरहामा गोलबजारका वडाध्यक्ष सोहेब अनवर पक्राउ
- सिरहा ।
- सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।
सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो।
गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते गोलबजारमा तोडफोड तथा आगजनी भएको थियो। उक्त घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।
प्रहरीका अनुसार अनवर कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर आए पनि प्रहरीबाट बच्न लुक्ने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पुर्याउने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






