एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
- काठमाडौं ।
- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डाबारे धारणा राख्दै भट्टराईले युवालाई प्राथमिकता दिन र पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्नुपर्ने बताएका हुन् । उनले यसबारे फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
भट्टराईका अनुसार बाँकी केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्छ । साथै, विगतमा प्रतिनिधित्व नपाएका भूगोल र समुदायलाई समेट्दै पार्टीभित्रको आन्तरिक सन्तुलनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
“बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिने र विगतमा छुटेका भूगोल तथा समुदायलाई समेट्दै आन्तरिक सन्तुलनलाई ख्याल गरी मनोनयन गर्ने,” उनले लेखेका छन्, “स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँबीच सन्तुलन मिलाउने ।”
आसन्न निर्वाचनलगायतका चुनौती सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुने भट्टराईले बताएका छन् । पार्टी एकतालाई खण्डित गर्ने निर्णयले पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको विषय केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने धारणा राखेका छन् ।
उनले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको तथा लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनेको उल्लेख गरेका छन् । यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गरेर राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ ।
असोजको पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा पनि आफूहरूले यी विषय उठाएको भट्टराईले स्मरण गराएका छन् । त्यसबेला ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिनुपर्ने र स्थायी कमिटी तथा पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउनुपर्ने धारणा राखिएको उनले बताएका छन् ।
तर, त्यसबेलाको निर्णयले आफूहरूले उठाएको भावनालाई समेट्न नसकेको भन्दै भट्टराईले पार्टीमा सकारात्मक ऊर्जा सिर्जना हुन नसकेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






