singel post top banner

चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन २२, २०८३
44 Views
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
समाचार सारांश
  • काठमाडौँ ।
  • चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ।

काठमाडौँ । चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। नागरिकबाट समयमै प्राप्त हुने सूचनाले सम्भावित अपराध र दुर्घटना रोक्न मद्दत पुग्ने प्रहरीको भनाइ छ।

‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात् ‘केही शङ्कास्पद देखे खबर गर्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा योजनाको महत्त्वपूर्ण आधार बनाइएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले बताए।

“कुनै शङ्कास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको जानकारी पाए नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्। सानो सूचनाले ठूलो दुर्घटना वा अपराधबाट समाजलाई जोगाउन सक्छ,” उनले भने।

प्रहरीका अनुसार नागरिकले दिएको सूचनाका आधारमा तत्काल प्रहरी परिचालन गर्न सकिन्छ र सूचना दिने व्यक्तिको गोपनीयता कायम गरिन्छ। आपत्कालीन अवस्थामा प्रहरीको निःशुल्क नम्बर **१००** मा फोन गर्न सकिनेछ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

अनलाइन ठगी र डीपफेक सामग्रीमाथि निगरानी

प्रहरीको सुरक्षा सतर्कता भौतिक अपराधमा मात्र सीमित छैन। चाडपर्वमा बढ्न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना र डीपफेक सामग्रीमाथि पनि निगरानी बढाइएको छ। सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत यस्ता सामग्रीको अनुगमन भइरहेको र अपराध वा भ्रम फैलाउने गतिविधि देखिए कानुनअनुसार कारबाही गरिने प्रवक्ता काफ्लेले बताए।

यस वर्षको सुरक्षा योजनामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी गरिने अनलाइन ठगीलाई पनि समेटिएको छ। नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, लोटरी र उपहारका झुटा सन्देश, नक्कली लगानी योजना, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी र ओटीपी, पिन वा पासवर्ड चोर्न गरिने फिसिङबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ।

“एआईबाट बनाइएका आवाज वा भिडियो, अथवा आफन्तको नाममा आएको असामान्य रकम माग्ने सन्देशलाई तुरुन्त विश्वास नगर्नुहोस्। त्यो ठगी हुन सक्छ,” काफ्लेले भने।

५० हजारभन्दा बढी प्रहरी परिचालन

बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित सुरक्षा योजना लागू गर्दै नेपाल प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ। यात्रुको सुरक्षाका लागि देशभर ४०८ स्थानमा तथा भारत र चीनसँग जोडिएका सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी प्रहरी परिचालन गरिएको छ। पैदल, मोबाइल, ग्रामीण, क्यूआरटी, एलआरपी, एसआरपी तथा क्रस पेट्रोलिङलगायत गस्ती सञ्चालन गरिने प्रहरीले जनाएको छ।

यसपटकको सुरक्षा योजना घटना भएपछि अनुसन्धान गर्नेभन्दा अपराध हुनुअघि नै रोक्ने रणनीतिमा केन्द्रित रहेको काफ्लेले बताए। चोरी, डकैती र लुटपाटका साथै जुवातास, अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव, सार्वजनिक स्थलमा झैझगडा तथा उच्छृंखल गतिविधिमाथि विशेष निगरानी राखिनेछ। सीमा क्षेत्रमा तस्करी, सीमा अपराध र विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न जाँच कडा पारिनेछ।

प्रमुख बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, प्रवेश–निकास नाका र बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा ड्रोन तथा सीसीटीभीबाट निगरानी बढाइएको प्रहरीले जनाएको छ।

यात्रु र राजमार्ग सुरक्षामा विशेष ध्यान

चाडपर्वमा ठूलो सङ्ख्यामा नागरिक राजधानीबाट बाहिरिने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई प्राथमिकता दिइएको छ। सवारीसाधन छुट्ने स्थानमै चालकको लाइसेन्स जाँच तथा मादक पदार्थ र लागूऔषध सेवन परीक्षण गरिनेछ। लामो दूरीका सवारीसाधनमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने र सवारीसाधनको मेकानिकल परीक्षण प्रतिवेदनसमेत जाँचिने प्रहरीको तयारी छ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने गतिविधिमाथि निगरानी गरिनेछ। चालकले लापरबाहीपूर्वक सवारी चलाएको देखे यात्रुले तत्काल प्रहरीलाई खबर गर्न सक्नेछन्। सूचना पाएपछि अगाडिको प्रहरी स्टेसनबाटै सम्बन्धित सवारी नियन्त्रणमा लिएर कारबाही गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

घर छाड्दा सावधानी अपनाउन आग्रह

लामो समय घरबाहिर जाने नागरिकलाई घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा नराख्न प्रहरीले सुझाव दिएको छ। घर छाड्नुअघि झ्यालढोका राम्ररी बन्द गर्ने, ग्यास र विद्युत् जाँच गर्ने, भरपर्दो ताल्चा लगाउने तथा सीसीटीभी र पर्याप्त प्रकाशको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। भीडभाडमा नगद, गरगहना र महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

सुरक्षित चाडपर्वका लागि सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रहरीले नागरिक, स्थानीय समुदाय, व्यवसायी र अन्य सरोकारवालासँगको सहकार्यलाई प्राथमिकता दिएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सुरक्षा सचेतना बढाउने र नागरिकबाट सूचना प्राप्त गर्ने कामलाई तीव्र बनाइनेछ।

चाडपर्व अवधिमा सम्भावित विपद्का घटनालाई पनि सुरक्षा योजनामा समेटिएको छ। विपद् तालिम केन्द्र र प्रदेशस्तरीय विपद् व्यवस्थापन गुल्मका प्रहरीलाई खोज, उद्धार र राहतका लागि २४सै घण्टा तयारी अवस्थामा राखिएको छ। मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी विपद्सम्बन्धी सूचना नागरिकसम्म पुर्‍याइनेछ। पहिरो वा अन्य कारणले सडक अवरुद्ध भए सम्बन्धित निकायसँग समन्वय गरी खुलाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

शङ्कास्पद गतिविधि देखे तत्काल सूचना दिन र चाडपर्वमा आफू तथा अरूको सुरक्षा सुनिश्चित गर्न स्वअनुशासन कायम गर्न प्रहरीले सबै नागरिकलाई आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा समेत उछाल
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा समेत उछाल
नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको माग : ९ बुँदे मुख्य आवश्यकता
नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको माग : ९ बुँदे मुख्य आवश्यकता
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
कञ्चनपुरमा असोजमा १७ जनाले गरे आत्महत्या, १०० अपराधका मुद्दा दर्ता
कञ्चनपुरमा असोजमा १७ जनाले गरे आत्महत्या, १०० अपराधका मुद्दा दर्ता
धादिङको गलौदीमा भासिएको पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि खुल्ने सम्भावना
धादिङको गलौदीमा भासिएको पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि खुल्ने सम्भावना
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, तीन अध्यादेश स्वीकृतको तयारी
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, तीन अध्यादेश स्वीकृतको तयारी
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग प्रदान
विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग प्रदान
singel sidbar banner
singel sidbar banner 2