कञ्चनपुरमा असोजमा १७ जनाले गरे आत्महत्या, १०० अपराधका मुद्दा दर्ता
- कञ्चनपुर ।
- कञ्चनपुरमा असोज महिनामा १७ जनाले आत्महत्या गरेका छन्।
कञ्चनपुर । कञ्चनपुरमा असोज महिनामा १७ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही अवधिमा विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन्।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असोजमा आत्महत्याका १७, लागुऔषधका २१, ज्यानसम्बन्धी १०, सामाजिक अपराधका १३, चोरीका ६, महिला तथा बालबालिकासम्बन्धी ६ र सवारी ज्यानसम्बन्धी दुई मुद्दा दर्ता भएका छन्। अन्य प्रकृतिका १९ मुद्दा पनि दर्ता भएका छन्।
आत्महत्या गर्नेमा आठ पुरुष, छ महिला र तीन बालिका छन्। तीमध्ये १५ जनाले झुन्डिएर र दुई जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उमेर समूहअनुसार १० देखि २० वर्षका चार, २१ देखि ३० वर्षका तीन, ३१ देखि ४० वर्षका दुई, ४१ देखि ५० वर्षका चार र ५० वर्षमाथिका चार जनाले आत्महत्या गरेका छन्।
लागुऔषधसम्बन्धी २१ मुद्दामा ३४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट ८६.०७ ग्राम खैरो हेरोइन, १२६ एम्पुल फेनारगन र ६७ चक्की ट्रामाडोल बरामद गरेको विवरणमा उल्लेख छ।
घरेलु हिंसासम्बन्धी ३२ उजुरीमध्ये २८ वटामा मिलापत्र भएको र चारवटा अदालत पठाइएको प्रहरीले जनाएको छ। यस अवधिमा हराएका ३४ जनाको विवरण दर्ता भएको थियो। प्रहरीले ३४ जनालाई नै फेला पारेको जनाएको छ। हराउनेमा १८ महिला, छ बालक, नौ बालिका र एक ज्येष्ठ नागरिक छन्।
असोजमा जिल्लाभर ५४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा तीन जनाको मृत्यु भएको र ७६ जना घाइते भएका छन्। दुर्घटनामा ७६ वटा सवारीसाधन संलग्न थिए। प्रहरीका अनुसार ४६ दुर्घटना चालकको कारणले र आठ दुर्घटना चौपायाका कारण भएका थिए।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले महिनाभर ३५ पटक विशेष प्रहरी परिचालन गरेको थियो। यसबाहेक एक हजार ३०२ पटक पिकेट, १३२ पटक चेकिङ, ३७२ पटक ग्रामीण गस्ती, दुई पटक एलआरपी र १३० पटक एसआरपी परिचालन गरिएको विवरणमा उल्लेख छ।
फैसला कार्यान्वयनतर्फ प्रहरीले २३ जना प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट २० वर्ष एक महिना १९ दिन कैद र दुई लाख ६४ हजार ६६२ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। सार्वजनिक चासोका पेन्डिङ मुद्दामध्ये १६ वटा फर्छ्योट भएका छन् भने ५५९ वटा बाँकी छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






