वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, विवाद समाधान र संरचना हटाउने काम तीव्र
- पर्सा ।
- वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ।
पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाउने र सडक विस्तारको काम भोलि सोमबारसम्म सम्पन्न गर्ने तयारी गरेको जानकारी दिएको छ।
सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्। उनका अनुसार नापजाँचको काम समेत एक साताभित्र पूरा हुने योजना छ।
उनले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी रहेका संरचनाको हटाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिए। अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उनले बताए।
सडक विस्तारका क्रममा घरधनीले आंशिक रुपमा मात्रै संरचना भत्काउने कारणले अधुरा रहेका संरचनाहरु हटाउने प्रक्रिया पनि तीव्र गतिमा भइरहेको छ।
सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनको अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो। यस क्रममा उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो।
सडक सीमाभित्र परेका संरचनाहरु २५ दिनभित्र आफैंँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो। यो समयसीमाभित्र धेरै संरचना नहटाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको हो।
सडकको विस्तार प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ, जसले वीरगञ्जको यातायात र व्यापारिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






