खोटाङमा दशैंमा माइती जाने ६४२ चेलीले पाए निःशुल्क मोटरसाइकल सेवा
- खोटाङ — दशैंमा माइतीघर जाने–आउने क्रममा खोटाङका ६४२ छोरीचेलीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।
- युवाहरूको समूहले सञ्चालन गरेको ‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत चार दिनमा उनीहरूलाई सेवा दिइएको कार्यक्रम संयोजक सञ्जयकुमार राईले बताए।
खोटाङ — दशैंमा माइतीघर जाने–आउने क्रममा खोटाङका ६४२ छोरीचेलीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्। युवाहरूको समूहले सञ्चालन गरेको ‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत चार दिनमा उनीहरूलाई सेवा दिइएको कार्यक्रम संयोजक सञ्जयकुमार राईले बताए।
राईका अनुसार कात्तिक ३ गते ५० जना, ४ गते ११० जना, ५ गते २५२ जना र ६ गते २३० जना चेलीले सेवा लिएका थिए। अभियानको तेस्रो संस्करणमा ५० जना राइडर खटिएका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपाका वडाध्यक्ष दानबहादुर राई पनि राइडरका रूपमा सहभागी भएका थिए।
माइतीघर जाने–आउने क्रममा निःशुल्क मोटरसाइकल सेवा पाउँदा चेलीहरू खुसी भएका छन्। अभियानले आउँदो तिहारमा पनि कात्तिक २४ देखि २६ गतेसम्म सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाहरूले २०८१ सालदेखि यो अभियान सुरु गरेका हुन्। गाडी नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका वा भाडा तिरेर यात्रा गर्न नसक्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी सेवा दिइँदै आएको संयोजक राईले बताए।
अभियानअन्तर्गत दिक्तेलबाट ३५ किलोमिटर दूरीसम्म निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराइन्छ। यात्राका लागि प्रयोग हुने मोटरसाइकलमा इन्धनको व्यवस्था सहयोग जुटाएर गरिन्छ। राईका अनुसार अभियानले २०८१ सालमा ३४५ जना र २०८२ सालमा करिब ७०० जनालाई सेवा दिएको थियो।
सरकारी सेवा–सुविधा प्राप्त गर्ने, बहालवाला जनप्रतिनिधि तथा घरमै सवारीसाधन भएका व्यक्तिहरू भने यो सेवाका लागि योग्य हुने छैनन्। दशैंको टीका र भाइटीका मनाउन माइती जाने चेलीलाई लक्षित गरी सुरु गरिएको यो सामाजिक अभियान संखुवासभामा पनि विस्तार भएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






