दसैंका ८ दिनमा कालीमाटी बजारमा भित्रियो झन्डै २८ लाख किलो कृषि उपज
- काठमाडौं ।
- दसैंको मुख्य आठ दिनमा कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ।
काठमाडौं । दसैंको मुख्य आठ दिनमा कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ देखि ८ कात्तिकसम्म बजारमा कुल २७ लाख ९४ हजार २२१ किलो तरकारी, फलफूल, मसला, माछा तथा अन्य वस्तु भित्रिएका हुन्।
यस अवधिमा सबैभन्दा बढी हरियो तरकारी आएको छ। समितिको तथ्यांकअनुसार आठ दिनमा २१ लाख ९१ हजार ३२९ किलो हरियो तरकारी बजारमा भित्रिएको छ। त्यस्तै, ३ लाख ८३ हजार ३०० किलो फलफूल र १ लाख ११ हजार ७४० किलो मसलाजन्य उपज आएको छ।
कालीमाटी बजारमा मासुजन्य वस्तुका रूपमा माछाको कारोबार हुने भएकाले यस अवधिमा ८८ हजार २९७ किलो माछा भित्रिएको समितिले जनाएको छ। यसबाहेक १९ हजार ५५५ किलो अन्य विविध वस्तु बजारमा आएका छन्।
दैनिक आपूर्तिमा भने उतारचढाव देखिएको छ। आठ दिनमध्ये सबैभन्दा धेरै कृषि उपज शनिबार भित्रिएको थियो। त्यस दिन मात्रै ६ लाख ११ हजार ८७५ किलो वस्तु बजारमा आएको थियो। सबैभन्दा कम आपूर्ति आज भएको छ—कुल १ लाख ३९ हजार १०५ किलो तरकारी, फलफूल र माछा भित्रिएको छ।
दसैंमा काठमाडौं उपत्यकाबाट धेरै मानिस बाहिरिए पनि उपत्यकामै रहेका उपभोक्ताको माग धान्न कालीमाटी बजारमा आपूर्ति निरन्तर भएको थियो। दसैं मनाउन उपत्यकाबाहिर गएका सर्वसाधारण फर्किन थालेसँगै बजारमा चहलपहल पनि बढ्न थालेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






