सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक
- नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ।
- अनुगमनका क्रममा भान्सामा बासी खानेकुरा, फोहोर खानेपानीको स्रोत र खानामा प्रयोग हुने काठ तथा फलामका टुक्रा भेटिएका छन्।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ। अनुगमनका क्रममा भान्सामा बासी खानेकुरा, फोहोर खानेपानीको स्रोत र खानामा प्रयोग हुने काठ तथा फलामका टुक्रा भेटिएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुले गरेको अनुगमनमा होटलमा विभिन्न कैफियत देखिएको विभागले जनाएको छ।
अनुगमन प्रतिवेदनमा होटलको सरसफाइ कमजोर रहेको, भान्साका सामग्री अव्यवस्थित रूपमा राखिएको र खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको उल्लेख छ। अनुगमन टोली पुग्दा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडाध्यक्षको पहलमा होटल खोलेर निरीक्षण गरिएको थियो।
निरीक्षणपछि होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्री उचित ढङ्गले व्यवस्थापन गर्न र खानेपानीको स्रोत सफा राख्न निर्देशन दिइएको छ। तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न पनि विभागले भनेको छ।
होटल सञ्चालकलाई निर्देशनअनुसार सुधार गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका–४ को वडा कार्यालयलाई जानकारी गराउन भनिएको छ। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






