सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रक्रिया अघि बढ्यो, तीन चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव खुल्ने
- काठमाडौँ।
- ठेक्का सम्झौता रद्द भएपछि लामो समयदेखि अलपत्र रहेको राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ।
काठमाडौँ। ठेक्का सम्झौता रद्द भएपछि लामो समयदेखि अलपत्र रहेको राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ। आयोजनाले सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि प्राविधिक मूल्याङ्कन पूरा गरी योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने मिति तय गरेको छ।
आयोजनाले असोज २७ गते सूचना जारी गर्दै प्राविधिक रूपमा सफल भएका कम्पनीहरूको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते खोलिने जनाएको छ। प्रस्ताव दिउँसो १ बजे सिन्धुलीस्थित आयोजना कार्यालयमा खोलिनेछ।
आयोजनाका अनुसार निर्माण कार्यका लागि छवटा कम्पनीले प्राविधिक प्रस्ताव पेस गरेका थिए। मूल्याङ्कनपछि तीन कम्पनी मात्र योग्य ठहरिएका छन्। योग्य कम्पनी तीनैवटा चिनियाँ हुन्: मेसर्स चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, मेसर्स एन्नेङ–आरसीसी जेभी र मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड।
गत जुन ८, २०२६ मा सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत बोलपत्र आह्वान गरिएको थियो। अब आर्थिक प्रस्तावको मूल्याङ्कनपछि ठेक्का कसले पाउने भन्ने टुङ्गो लाग्नेछ। सामान्यतया, प्राविधिक रूपमा योग्य ठहरिएका बोलपत्रदातामध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने कम्पनी ठेक्काका लागि छनोट हुने सम्भावना रहन्छ।
तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङले अघिल्लो ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै करिब १० महिनाअघि ठेक्का सम्झौता रद्द गरेपछि आयोजनाको काम रोकिएको थियो। नयाँ बोलपत्र प्रक्रिया अघि बढेसँगै लामो समयदेखि अन्योलमा रहेको निर्माण कार्य पुनः सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






