भारतबाट उखुका चार उन्नत जात नेपालमा, उत्पादकत्व र चिनीको मात्रा बढ्ने अपेक्षा
- काठमाडौं ।
- उखु अनुसन्धान तथा विकासलाई सुदृढ गर्दै चिनी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित भारतबाट उखुका चार उन्नत जात नेपाल ल्याइएको छ।
काठमाडौं । उखु अनुसन्धान तथा विकासलाई सुदृढ गर्दै चिनी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित भारतबाट उखुका चार उन्नत जात नेपाल ल्याइएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय दूतावासकी प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई उखुका ती जातका बीउ हस्तान्तरण गरिन्।
नार्कअन्तर्गत बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) अन्तर्गतको भारतीय उखु अनुसन्धान संस्थान (आईसीएआर–आईएसआरआई), लखनउको सहकार्यमा उन्नत जात नेपाल ल्याइएको हो।
नार्कका अनुसार यी जातको उत्पादन क्षमता र सुक्रोज (चिनीको मात्रा) उच्च छ। फरक–फरक समयमा परिपक्व हुने चारै जात उखुमा लाग्ने गम्भीर ‘रातो सडन’ रोगप्रतिरोधी छन्।
हस्तान्तरण गरिएका जातमध्ये ‘सीओएलके १६२०२’ को उत्पादन क्षमता प्रतिहेक्टर ९३.२ टन र सुक्रोजको मात्रा १७.७ प्रतिशत छ। यो जात मध्य–ढिलो अवधिमा परिपक्व हुन्छ। मध्य–ढिलो अवधिमै पाक्ने ‘सीओएलके १६४७०’ को उत्पादन क्षमता प्रतिहेक्टर ८२.५ टन र सुक्रोजको मात्रा १७.४ प्रतिशत छ।
त्यस्तै, चाँडै परिपक्व हुने ‘सीओएस १७२३१’ को उत्पादन क्षमता प्रतिहेक्टर ९१.५ टन र सुक्रोजको मात्रा १७.७ प्रतिशत छ। अर्को अगौटे जात ‘सीओएस १८२३१’ को उत्पादन क्षमता प्रतिहेक्टर ९२.५ टन र सुक्रोजको मात्रा १८ प्रतिशत रहेको छ।
हाल नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। यसबाट वार्षिक करिब २७ लाख टन उखु उत्पादन हुने गरेको छ। उत्पादित उखु सञ्चालनमा रहेका करिब एक दर्जन चिनी मिलमा प्रशोधन गरिन्छ।
नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० टन छ। यो छिमेकी भारतको औसत उत्पादकत्व—प्रतिहेक्टर ८२ टन—भन्दा निकै कम हो। कम उत्पादकत्वका कारण नेपालले कुल चिनी खपतको करिब ३० प्रतिशत माग पूरा गर्न हरेक वर्ष चिनी आयात गर्नुपर्ने अवस्था छ।
नेपालको हावापानीमा उखुको प्रजनन गर्न कठिन हुने र त्यसका लागि ‘फाइटोट्रोन’ जस्तो वातावरण नियन्त्रित संरचना आवश्यक पर्ने भएकाले नार्कले भारतीय उखु अनुसन्धान संस्थानसँग उन्नत जात उपलब्ध गराउन अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार ती जात नेपाल ल्याइएको हो।
राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले अब चारै जातलाई विभिन्न अनुसन्धान केन्द्रमा दुई वर्षसम्म परीक्षण गर्नेछ। यस अवधिमा बीउ उत्पादन र तुलनात्मक अध्ययन पनि गरिनेछ। परीक्षणबाट उपयुक्त नतिजा आएपछि जातको औपचारिक उन्मोचन तथा दर्ता गरिने र त्यसपछि बीउ वृद्धि गरी चिनी मिलसँगको समन्वयमा किसानसम्म पुर्याइने कार्यकारी निर्देशक श्रेष्ठले बताए।
नार्कले यी उन्नत जातको विस्तारबाट उखुको उत्पादकत्व र किसानको आम्दानी बढ्ने तथा चिनी मिलको उत्पादन क्षमता सुधार हुने अपेक्षा गरेको छ। दीर्घकालमा यसले नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने परिषद्को विश्वास छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






