ओलीको दाबी: एमालेविरुद्धको घेराबन्दी जारी छ, बलजफ्तीको प्रतिवाद गर्नुपर्छ
- काठमाडौं ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्। ठूला र शक्तिशाली पक्षले बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए।
“लोकतन्त्र मासिएको छ। स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ। यी कुराको पुनःप्राप्ति अनिवार्य छ। त्यसका लागि बलजफ्ती र दमन गरिए हामी त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिन्छौँ,” उनले भने, “विगतमा पनि त्यसो गरेका हौँ, अहिले पनि गर्नुपर्ने हुन सक्छ।”
निहत्था जनतालाई हतियार र संगठित बल प्रयोग गरेर दबाइए जनताले प्रतिवाद गर्नुपर्ने ओलीले बताए। उनले शान्ति, न्याय र मानवताको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै आन्दोलनको अर्थ स्पष्ट पार्ने प्रयास गरे।
“शान्तिका लागि आन्दोलन गर्नुपर्यो र निहत्था जनतालाई हतियार तथा संगठित बलले दबाइयो भने जनताले प्रतिवाद गर्नुपर्ने हुन्छ। हामी त्यसलाई आन्दोलन भन्छौँ,” उनले भने। “आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन। ठूलो र बलियोले कमजोरमाथि बलजफ्ती गर्दा त्यसको प्रतिवाद गर्नु नै आन्दोलन हो।”
आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुने ओलीको दाबी थियो। विगतका निर्वाचनमा पनि आफ्नो पार्टीमाथि घेराबन्दी गरिएको उनले आरोप लगाए।
“यस निर्वाचनमा हामीविरुद्धको घेराबन्दी सकिएको छैन, जारी छ। २०७७ र २०७९ सालमा पनि हामीविरुद्ध सानो घेराबन्दी गरिएको थिएन। २०७७ सालमा त हाम्रो पार्टी नै कब्जा गरेर घेराबन्दी गरियो,” उनले भने।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






