पोखराको औषधि पसलबाट ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद, सञ्चालिका पक्राउ
- कास्की — पोखराको एक औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद भएको छ।
- प्रहरीले पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरेको छ।
कास्की — पोखराको एक औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद भएको छ। प्रहरीले पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–२६, कालिकाचोकस्थित जलधारे औषधि पसलमा बुधबार प्रहरीले छापा मारेको हो। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसल जाँच गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार जाँचका क्रममा चार प्रकारका औषधि बरामद गरिएको छ। प्रहरीका अनुसार ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन)का ६ हजार ४००, प्रेगाबालिनका ४५०, लोराजेपामका १५० र क्लोर्डियाजेपोक्साइडका १६० चक्की फेला परेका छन्। कुल ७ हजार १६० चक्की बरामद भएको प्रहरीले जनाएको छ।
“लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ। जाँचका क्रममा ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला परे,” प्रनाउ पासवानले बताए।
औषधि बिक्री–वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै यति ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। पोखरामा यसअघि पनि फार्मेसीबाट लागुऔषध कारोबार भएको भेटिएको र संलग्न सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






