जनकपुरधाममा अभियानले फुटपाथ अतिक्रमण हटाउँदै व्यवस्थित शहर बनाउने दिशा लियो
- जनकपुरधाम ।
- मधेश प्रदेशको राजधानी जनकपुरधाममा, फुटपाथ र ऐतिहासिक स्थलहरूमा भएको अतिक्रमण हटाउने अभियान गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा तीव्र रूपमा अघि बढिरहेको छ।
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा, फुटपाथ र ऐतिहासिक स्थलहरूमा भएको अतिक्रमण हटाउने अभियान गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा तीव्र रूपमा अघि बढिरहेको छ। दुई साता अघि सुरु भएको यस अभियानले शहरलाई व्यवस्थित र सफा बनाउने दिशामा महत्वपूर्ण कदम चाल्दै आएको छ।
सोमबार कदम चोक क्षेत्रमा सञ्चालन भएको यस अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइएको हो। अभियान अन्तर्गत मुख्य बजार क्षेत्र र व्यस्त चोकहरूमा फुटपाथ अतिक्रमण हटाउने, सडक खाली गराउने र सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ। रामानन्द चौक, जानकी मन्दिर, गंगासागर, पेठिया बजार, भानुचौक र रेल्वे स्टेशन लगायतका क्षेत्रहरूमा अतिक्रमण हटाइएका छन्।
साथै, सडक सुरक्षालाई ध्यानमा राख्दै डिभाइडर पोल जडान, अनियन्त्रित पार्किङ हटाउने र सार्वजनिक सवारीलाई तोकिएको स्थानमा सञ्चालन गर्न व्यवस्था गरिएको छ। यसले विशेषगरी ई–रिक्सा, बस र माइक्रोबस सञ्चालनमा सुधार ल्याएको देखिएको छ।
अभियानको प्रभाव सर्वसाधारणदेखि व्यवसायी र सवारीसाधन क्षेत्रसम्म देखिएको छ। स्थानीय व्यापारीहरूले सहर सफा र व्यवस्थित बन्दै जाँदा आफूहरूलाई खुशी व्यक्त गरेका छन् भने यात्रु चढाउने र ओराल्ने कार्य सहज भएको सवारी चालकहरूका भनाइ छन्।
मन्त्री महतोले यस अभियानलाई निरन्तरता दिनुका साथै, अटेर गर्नेहरूलाई कानुनी कारबाही र जरिवानासमेतको व्यवस्था गरिने स्पष्ट पारेका छन्। उनले भने, “सफा र व्यवस्थित राजधानीको सपना पूरा गर्न हामी अझ कडा कदम चाल्नेछौं।”
विस्थापन होइन, व्यवस्थापनको माग
अभियान अन्तर्गत गंगासागर डिल क्षेत्रमा फुटपाथ खाली गरिएपछि त्यहाँका साना व्यापारीहरूले आफूहरूलाई सुरक्षित र व्यवस्थित स्थान उपलब्ध गराउन माग गरेका छन्। विगत तीन दशकभन्दा बढी समयदेखि चुराको व्यापार गर्दै आएका नुतनदेवी कर्णले भने, “हामीलाई निश्चित स्थानमा व्यवस्थापन गरियोस्। कता-कता सारिँदा धेरै समस्या हुन्छ।”
उनले थपिन्, “हामीलाई हटाउने होइन, व्यवस्थित रूपमा उचित स्थानमा राख्नुपर्छ।” दीर्घकालीन रूपमा साना व्यवसायीहरूको व्यवस्थापन चुनौतीका रूपमा देखिएको यस कदमले शहरलाई अझ विकसित र स्वच्छ बनाउने अपेक्षा व्यक्त गरिएको छ।
जनकपुरधामका प्रमुख मनोजकुमार साहले भने, फुटपाथ व्यापारीहरूलाई विस्थापन नभएर व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए।
जनकपुरधाममा सुरु भएको यो अभियान शहरको विकासका लागि एक सकारात्मक कदम हो। यसले शहरलाई अझ व्यवस्थित, स्वच्छ र आकर्षक बनाउने अपेक्षा व्यक्त गरिएको छ। स्थानीय जनता र व्यवसायीहरूलाई विश्वास छ कि निरन्तर प्रयासले शहरको रूपान्तरण अझ प्रभावकारी रूपमा हुनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






