बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध: कोरलामा ३०० कन्टेनर र २०० विद्युतीय सवारी रोकिए
- मुस्ताङ ।
- बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङका विभिन्न स्थानमा झन्डै पाँच सय कन्टेनर रोकिएका छन्।
मुस्ताङ । बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङका विभिन्न स्थानमा झन्डै पाँच सय कन्टेनर रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछिको विपद्ले सडक अवरुद्ध हुँदा ती कन्टेनर एक सातादेखि लेतेदेखि कोरलानाकासम्मका विभिन्न ठाउँमा रोकिएका हुन्।
भारी वर्षाका कारण क्षतिग्रस्त म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ। सडक आयोजना प्राविधिकका अनुसार बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक साता लाग्न सक्छ। सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएका छन्।
बेनी–जोमसोम सडक बन्द रहे पनि कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डको अवरुद्ध सडक मर्मत गरेपछि भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक कन्टेनर जोमसोम ल्याइएको छ।
यसअघि नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन सकेको थिएन। बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोलमा क्षति पुर्याएपछि मुस्ताङमा एक सातासम्म ३३ केभी केन्द्रीय विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। यसले उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित बनाएको थियो।
कोरलानाकामै रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार नाकाबाट आयात गरिएका सामान बोकेका करिब ३०० कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासको प्रतीक्षामा छन्।
दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका सामान समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता पनि प्रभावित भएका छन्। आफूले चाहेका सामग्री समयमै खरिद गर्न नपाउँदा उपभोक्तालाई समस्या परेको छ भने सामानको ढुवानी अवरुद्ध हुँदा नेपाली बजारको आर्थिक गतिविधिसमेत सुस्ताएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






