विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल
- काठमाडौं — नेपालको अध्यागमन विभागले विदेशी नागरिकहरूको व्यवस्थापनलाई प्रभावकारी र सुगम बनाउन नयाँ सूचना प्रणाली लागू गरेको छ।
- यसलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट शुभारम्भ गरिएको हो।
काठमाडौं — नेपालको अध्यागमन विभागले विदेशी नागरिकहरूको व्यवस्थापनलाई प्रभावकारी र सुगम बनाउन नयाँ सूचना प्रणाली लागू गरेको छ। यसलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट शुभारम्भ गरिएको हो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ प्रणालीको उद्घाटन गरे।
नेपाल भ्रमण गर्न आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनाको सहजीकरण, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले यो सूचना प्रणाली लागू गरिएको विभागले जनाएको छ। यस प्रणालीले विदेशी नागरिकहरूको नेपाल बसाइको विवरणलाई डिजिटल रुपमा रेकर्ड गर्ने र व्यवस्थापन गर्नेछ।
गृहमन्त्री अर्यालले यस प्रणालीले अध्यागमन कानुन अनुसार विदेशी नागरिकहरूको आवतजावतको अभिलेखलाई प्रभावकारी बनाउने र नेपालको सुरक्षा सुदृढ पार्ने विश्वास व्यक्त गरे। उनले यसले विपद्को समयमा उद्धार र खोजी कार्यमा सहजता ल्याउने, विदेशी नागरिकहरूको गतिविधि अनुगमन गर्न र अपराध अनुसन्धानलाई तीव्रता दिने भूमिका खेल्ने बताए।
उनले भन्नुभयो, “यस प्रणालीले नेपाललाई एक सुरक्षित र पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धन गर्न मद्दत गर्नेछ। साथै, यसले हाम्रो सरकारको विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासन र सुशासनको प्रतिबद्धतालाई समेत बलियो बनाउनेछ।”
विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलहरूमा यो प्रणाली अनिवार्य रूपमा लागू हुनेछ र दुई महिनाभित्रै देशका सबै सरोकारवाला निकायहरूमा विस्तार गरिनेछ। यस नयाँ प्रणालीले विदेशी नागरिकहरूको आवतजावतको विवरणलाई व्यवस्थित र सुरक्षित बनाउँदै, नेपाललाई एक व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम भएको विश्वास गरिन्छ।
यस कदमले नेपालको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने र विदेशी पर्यटकहरूको सुरक्षालाई सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






