उद्योग वाणिज्य संघ जनकपुरबाट भोटेकोशी बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण
- जनकपुरधाम ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित रसुवा, नुवाकोट, र धादिङका परिवारहरूलाई उद्योग वाणिज्य संघ जनकपुरले राहत सामग्री पठाएको छ।
जनकपुरधाम । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित रसुवा, नुवाकोट, र धादिङका परिवारहरूलाई उद्योग वाणिज्य संघ जनकपुरले राहत सामग्री पठाएको छ। मानवीय सेवामा एकता भन्ने मूल नाराका साथ, संघले एक हप्ता देखि सार्वजनिक रूपमा सहयोगको आह्वान गरेको थियो। यस प्रयासमा सबैको सहभागिता र सहकार्यले करिब १ करोड रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अत्यावश्यक सामग्री संकलन भएको हो।
संघले सङ्कलित सामग्रीलाई कार्यालय परिसरमा सार्वजनिक गर्दै, प्रभावित स्थलमा सवारीसाधनको अभावका कारण थोपा ढिलाइ भएको जानकारी दिएको छ। संघका अनुसार, सङ्कलित लत्ताकपडा सामग्रीहरूमा लेडिज सुट १,३७० थान, साडी १,४४४ थान, बालबालिका कपडा ७६५ थान, जिन्स पाइन्ट ४६५ थान, जेन्ट्स सर्ट १,८५२ थान, लेडिज कुर्ता ३२२ थान, ट्र्याक सुट सेट १,३४४ थान लगायत अन्य वस्तुहरू समावेश छन्।
त्यसैगरी, ३२५ थान बालबालिका जुत्ता, २५८ लेडिज जुत्ता, १६१ लेडिज चप्पल, ४५६ प्लास्टिक चप्पल, २१० टावेल र महिला-पुरुषका भित्री वस्त्रहरू पनि राहत सामग्रीमा समावेश छन्। खाद्यान्नका रूपमा ७५ बोरा चामल, २१ बोरा सोयाबिन, १ बोरा दाल, ४ बोरा नुन, ४१ बोरा चिउरा, २८ बोरा मुरही, र ३१ कार्टुन चाउचाउ पठाइएको छ। त्यस्तै, ३ बोरा डायपर, ३ बोरा स्टेपेरी, र १ कार्टुन चियापत्ती पनि राहत सामग्रीमा रहेका छन्।
खाना पकाउने सामग्रीमा ७५ थान तावा र कराही, २००-२०० पिस थाल, कचौरा, ग्लास, सानो र ठूलो कचौरा समावेश छन्। सरसफाइका लागि ३२ थान फिनेल, १५ थान ट्वाईलेट ब्रस र ३४ थान हरिपिक्स समेत पठाइएको छ। साथै, एक थान कपडा सिलाई मेसिन पनि राहत कार्यमा समावेश गरिएको छ।
उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीले बाढीले देशव्यापी ठूलो क्षति पुर्याएको बेला सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “बाढी प्रभावित स्थलमा सवारीसाधनको अभावले केही ढिला भए पनि आज राहत सामग्री पठाएका छौं।” संघले मंगलबार एक औपचारिक कार्यक्रम गरी सङ्कलित सामग्रीहरूको सार्वजनिक गरेको थियो र आज ती सामग्रीहरू बाढी पीडितहरूलाई हस्तान्तरण गरिएको हो।
यस सहयोगले बाढी पीडितहरूको पुनःस्थापनामा केही हदसम्म मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






