एचपीभी खोपपछि बालिकाको हातखुट्टा नचल्ने, छानबिनको माग गर्दै सांसद साजिदा खातुन
- काठमाडौँ — दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनलाई एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको विषयलाई लिएर प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ।
- नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले उक्त घटना र अन्य राष्ट्रिय समस्या प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उचित उपचार र क्षतिपूर्तिको माग गरेकी हुन्।
काठमाडौँ — दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनलाई एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको विषयलाई लिएर प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले उक्त घटना र अन्य राष्ट्रिय समस्या प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उचित उपचार र क्षतिपूर्तिको माग गरेकी हुन्।
सांसद सिद्दिकीले जानकारी दिँदै बताइन् कि कक्षा ६ मा अध्ययनरत बालिकालाई खोप लगाएलगत्तै स्वास्थ्यमा जटिलता देखा परेको थियो। खोपपश्चात गम्भीर बिरामी परेकी आयशालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गरिएको थियो। हाल उनी घर फर्किए पनि हातखुट्टा चल्न नसक्ने अवस्था रहेको सांसद सिद्दिकीको भनाइ छ। उनले यस घटनाको निष्पक्ष छानबिन गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था गर्न सरकारलाई जोडदार आग्रह गरेकी छन्।
यसैबीच, सांसद सिद्दिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजीको वर्तमान अवस्थाबारे पनि सरकारको जवाफ माग गरेकी हुन्। उनले तथ्याङ्क प्रस्तुत गर्दै बेपत्ताहरूको अवस्थाबारे अझै स्पष्ट हुन नसकेको अवस्थालाई दुःखद् बताए।
अर्कोतर्फ, सांसद सिद्दिकीले देशव्यापी महँगी, नागरिकको आर्थिक संकट र आत्महत्याका घटना बृद्धि हुँदै गएको अवस्थालाई पनि औंल्याइन्। उनले भनिन्, “देश महँगो भयो, हरेक कुराको मूल्य बृद्धि हुँदै जाँदा नागरिकहरू पिल्सिएका छन्।” नागरिकका समस्या र जीवन रक्षाका लागि सरकारले गम्भीर र दीर्घकालीन योजना बनाउनु आवश्यक रहेको उनको धारणा छ।
सांसद सिद्दिकीले सरकारलाई स्पष्ट र ठोस योजनासहित नागरिकको जीवन रक्षा गर्न ध्यान दिन आग्रह गर्दै भनेकी छन्, “आत्महत्याका घटना किन बढिरहेका छन्? सरकारले नागरिकको जीवन रक्षाका लागि के योजना बनाएको छ?” उनले नागरिकको जीवन रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा सरकारलाई थप सक्रिय हुने आवश्यकता औँल्याइन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






