दाङका सामुदायिक वन र झाडीबाट १४ नाल अवैध भरुवा बन्दुक बरामद
- दाङ ।
- प्रहरीले दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइराखिएका १४ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
दाङ । प्रहरीले दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइराखिएका १४ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा बन्दुकहरू बरामद गरिएका हुन्।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५, खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वनबाट र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८, पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट एक–एक नाल बन्दुक फेला पारेका छन्।
त्यस्तै, प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक नाल, अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले राप्ती गाउँपालिका–१ स्थित रौसिङखोला बगरनजिकको झाडीबाट पाँच नाल र अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणेश्वर सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद बन्दुकमध्ये १३ नाल चालु अवस्थामा र एउटा बिग्रिएको अवस्थामा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






