गोरखाका समस्या समाधानमा पहल गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता
- काठमाडौं ।
- गृहमन्त्री सुधन गुरुङले गोरखाका नागरिकका समस्या समाधान र जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखाका नागरिकका समस्या समाधान र जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तर्क्रियामा सहभागीहरूका गुनासा र सुझाव सुनेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गुरुङले जिल्लाको विकास र नागरिकका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै उनले जिल्लाका समस्या समाधानका लागि आवश्यक काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागीहरूले गोरखाको पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय सञ्चालनका चुनौतीबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारले चासो नदिएको उनीहरूको गुनासो थियो। जिल्लाको विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग पनि उनीहरूले राखे।
कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसान समस्यामा परेको विषयसमेत उठाइएको थियो। सहभागीहरूले नेपाली किसानले उत्पादन गरेका तरकारीलाई बजारमा प्राथमिकता दिन र स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिए।
उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे पनि धारणा राखेका थिए। गोरखाका स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको उनीहरूको भनाइ थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






