भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई महिला संघद्वारा राहत
- काठमाडौं ।
- सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गरेको छ।
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गरेको छ।
संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा राहत रकम हस्तान्तरण गरेकी हुन्।
बाढीमा बहालवाला १३ र अवकाशप्राप्त एक गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए। एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए भने दुई जना सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्य बेपत्ता भएका थिए।
संघले बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँ, परिवारका सदस्य बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई जनही १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ।
अध्यक्ष पौडेलले बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवारलाई राहत रकम हस्तान्तरण गरेकी थिइन्। साथै, अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगर तथा परिवारका सदस्य बेपत्ता भएका दुई जना महिला सशस्त्र प्रहरी कर्मचारीलाई पनि रकम प्रदान गरिएको थियो। बाँकी बेपत्ता कर्मचारीका परिवारसँग भेट गरी राहत रकम उपलब्ध गराइने संघले जनाएको छ।
यसैबीच, संघले सशस्त्र प्रहरी बल नेपालको विपद् कोषमा जम्मा गर्न ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेको छ।
संघले आत्मनिर्भरता प्रवर्द्धन गर्न विभिन्न आयमूलक गतिविधि सञ्चालन गर्दै आएको छ। ती गतिविधिबाट संकलित रकमबाटै बाढीपीडितलाई राहत प्रदान गरिएको हो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






