बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन
- गोरखा ।
- बूढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले उत्तरी गोरखाका सल्लेरी, बगर र घट्टेखोलालगायतका स्थानमा क्षति पुर्याएको छ।
गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले उत्तरी गोरखाका सल्लेरी, बगर र घट्टेखोलालगायतका स्थानमा क्षति पुर्याएको छ। चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार प्रारम्भिक विवरणमा ३५ भन्दा बढी घर बगेका छन्। क्षतिको यकिन विवरण संकलन भइरहेको छ।
चुरीमा गएको पहिरोका कारण चुम्चेतका पाँच गोठ सम्पर्कविहीन भएको अध्यक्ष लामाले बताए। बाढीले सल्लेरीमा निर्माणाधीन जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ।
बाढीले मान्वु र सोती जोड्ने मोटरेबल पुल बगाएको छ। प्रहरी निरीक्षक आकाश कडेलका अनुसार चुमनुव्री गाउँपालिका–३ का नाग्चेत र सिर्दिवास तथा धार्चे गाउँपालिका–५ का माछाखोला र केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगेका छन्। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको उनले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रका स्थानीय घर छाडेर सुरक्षित स्थानको खोजीमा डाँडातिर उक्लिएका छन्। जगतका स्थानीय गणेश कार्कीले बाढीले घर बगाएको हेर्नुबाहेक आफूहरूसँग अरू विकल्प नभएको बताए। उनका अनुसार बाढी केहीबेर रोकिएजस्तो हुने र फेरि एक्कासि आउने गरेको छ। “यस्तो बाढी जन्मेदेखि आजसम्म देखेको थिइनँ,” उनले भने।
सिर्दिवासकी स्थानीय कुमारी गुरुङका अनुसार बाढी अझै रोकिएको छैन र स्थानीय त्रसित छन्। पहिरोले थुनिएको स्यार खोला एक्कासि खुलेपछि बूढीगण्डकी नदीमा बाढी आएको बताइएको छ। स्यार खोला बूढीगण्डकीमा मिसिने सहायक खोला हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ। हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभएको उनले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






