रसुवाको गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, एक साताभित्र बेलिब्रिज जडान गर्ने लक्ष्य
- काठमाडौं ।
- बाढीले क्षति पुर्याएको गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ।
काठमाडौं । बाढीले क्षति पुर्याएको गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने मुख्य सडकमार्गको ट्र्याक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ। सडक निर्माण तथा मर्मत भइरहेका बेला सवारीसाधनको चाप बढ्दा काम प्रभावित भएको भन्दै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्।
ट्र्याक खोल्ने काम पूरा भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको तयारी पनि अघि बढाइएको छ। नुवाकोटतर्फ पुल निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।
रसुवातर्फको बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले बताएका छन्। निर्माणलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
बाढीले सडक संरचनामा क्षति पुर्याएपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






