माणिक लामाको जीवन यात्रा: क्रान्तिकारी कम्युनिस्ट नेता र राजनीतिक इतिहासमा उनका योगदान
- काठमाडौं — क्रान्तिकारी कम्युनिस्ट नेता माणिक लामाको जीवन, व्यक्तित्व र कृतित्वमा आधारित ‘माणिक लामा जीवन यात्रा’ नामक पुस्तकको लोकार्पण र परिचर्चा सम्पन्न भएको छ।
- उक्त कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित थियो, जहाँ विभिन्न राजनीतिक र सामाजिक व्यक्तित्वहरू उपस्थित थिए।
काठमाडौं — क्रान्तिकारी कम्युनिस्ट नेता माणिक लामाको जीवन, व्यक्तित्व र कृतित्वमा आधारित ‘माणिक लामा जीवन यात्रा’ नामक पुस्तकको लोकार्पण र परिचर्चा सम्पन्न भएको छ। उक्त कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित थियो, जहाँ विभिन्न राजनीतिक र सामाजिक व्यक्तित्वहरू उपस्थित थिए।
पुस्तकको लोकार्पण कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेपाली कम्युनिस्ट पार्टीकी नेत्री पम्फा भुसाल, नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई, एमाले युवा नेता गोकुल बास्कोटा, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, वामपन्थी विश्लेषक श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, प्रगतिवादी समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रतिनिधिसभाका सदस्य डा. राम लामा र परशुराम तामाङ, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेकपा (माओवादी) का नेता कान्छाराम तामाङ र माणिक लामा प्रतिष्ठानकी अध्यक्ष ल्हामो लामाले भाग लिएका थिए।
मणिक लामाको सहकर्मी अशोक सुवेदीले सम्पादन गरेको ३५२ पृष्ठको रङ्गीन पुस्तकमा विभिन्न राजनीतिक पार्टीका २६ जना नेताका लेख समावेश छन्। यस स्मृतिग्रन्थमा पूर्वराष्ट्रपतिः विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीः केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र वामदेव गौतमका शुभकामना सन्देश र संस्मरणहरू पनि समावेश छन्। उनीहरूले माणिक लामाको समाज र राजनीतिक क्षेत्रमा गरेको योगदानलाई प्रशंसा गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा उनले पुर्याएको योगदानलाई अनुकरणीय र अनुसरणीय भएको बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथिदेखि वक्ताहरूले माणिक लामाको जीवन संघर्षपूर्ण र प्रेरणादायी भएको बताए। झलनाथ खनालले उनका जीवनयात्रालाई सङ्घर्षपूर्ण र क्रान्तिकारी चेतनाले भरिएको बताउँदै, हेमन्तप्रकाश ओलीले हतियारबद्ध आन्दोलनबाट मात्र सत्ता परिवर्तन सम्भव रहेको आफ्नो धारणा व्यक्त गरे। प्रा. डा. सुरेन्द्र केसीले लामाको विचार र नीतिलाई अनुसरण गर्नुपर्ने आवश्यकतामा जोड दिए।
प्रारम्भिक जीवन, राजनीतिक यात्रा र योगदानबारे माणिक लामाको छोरी नवीना लामाले बताउँदै भनिन्, उनका पिताले विभिन्न समयमा काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकको चौतारा र केन्द्रीय जेलमा करिब चार वर्ष जेल जीवन बिताएका थिए। माणिक लामाले २०३७ सालमा कम्युनिस्ट आन्दोलनमा औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेपछि आफ्नो राजनीतिक यात्रा सुरु गरे। उनले जनगणतन्त्र कोरियासँग राम्रो सम्बन्ध कायम गरेका थिए र विश्वका ६० भन्दा बढी देशको राजनीतिक यात्रामा पनि निकट थिए।
उनको राजनीतिक जीवनमा विभिन्न संघर्ष र परिवर्तनहरू आएका थिए। एमालेबाट गाउँपालिकाको अध्यक्ष पदसम्म पुगेका लामाले माओवादीको आह्वानमा गाउँ अध्यक्षबाट राजीनामा दिएर हतियार पार्टीलाई बुझाएका थिए। २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन भएपछि उनी सो पार्टीमा सक्रिय भए। त्यसपछि उनी ताम्सालिङ स्वायत्त प्रदेश प्रमुख र महासचिव समेत थिए। सरकारसँग सहमति गरेपछि उनी नेकपा (एकीकृत माओवादी) मा आबद्ध भए। तत्कालीन सरकारले उनीविरुद्ध योजनाबद्ध रूपमा कार्य गरेको थियो। २०८० साल भदौ १३ गते भारतको चेन्नईमा उपचारको क्रममा उनको निधन भएको थियो।
माणिक लामाको जीवन संघर्षपूर्ण, आदर्श र प्रेरणादायी रहेको बताउँदै अनेकौं नेताहरुले उनको योगदानलाई स्मरण गरेका छन्। यस पुस्तकले राष्ट्रियता, समाजवाद र साम्राज्यवादविरोधी आन्दोलनमा उनको जीवनको योगदानलाई स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






