स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
- काठमाडौं – रसुवाको भोटेकोशी बाढीपछिको खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ।
- यो ड्रोन जलविद्युत आयोजना भित्रको सुरुङभित्र खोजी र उद्धार कार्यमा प्रयोग हुने अत्याधुनिक प्रविधिको नमूना हो।
काठमाडौं – रसुवाको भोटेकोशी बाढीपछिको खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ। यो ड्रोन जलविद्युत आयोजना भित्रको सुरुङभित्र खोजी र उद्धार कार्यमा प्रयोग हुने अत्याधुनिक प्रविधिको नमूना हो।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा प्राप्त उक्त सेमी–अटोनोमस ड्रोन शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विस दूतावासका अनुसार, नेपालमा पुगेका एक स्विस मानवीय सहायता विज्ञले उक्त उपकरण प्राधिकरणलाई बुझाएका हुन्।
यो ड्रोन स्विस कम्पनी फ्लाइबिलिटीले अनुदानस्वरूप उपलब्ध गराएको हो। विशेष गरी साँघुरा, अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यसको डिजाइन गरिएको हो।

फ्लाइबिलिटी ड्रोन र यसको विशेषताहरू:
स्विस कम्पनी फ्लाइबिलिटीले मुख्यतया भित्री, साँघुरा र जोखिमपूर्ण संरचना जस्तै सुरुङ, भत्किएका खानी र औद्योगिक पाइपलाइनहरूको निरीक्षण गर्न ‘एलियोस’ सिरिजका विशेष ड्रोनहरू निर्माण गर्दै आएको छ। यस ड्रोनको बाहिरी भाग कार्बन फाइबरको बलियो गोलाकार जालीले ढाकिएको हुन्छ, जसले गर्दा सुरुङको भित्ता वा भग्नावशेषमा ठोक्किएर पनि यो खस्दैन र सन्तुलन कायम राख्न सक्छ।
अँध्यारोमा पनि काम गर्न सक्ने यसमा जडान गरिएका शक्तिशाली एलईडी बत्ती र थर्मल क्यामेराले सुरुङभित्रको भिडियो स्पष्ट रुपमा कन्ट्रोल रुममा पठाउन सक्छ। थर्मल क्यामेराले मानिसको शरीरको तापक्रम पहिचान गर्न सक्ने भएकाले भग्नावशेषमा फसेका जीवित व्यक्तिहरू पत्ता लगाउन मद्दत गर्दछ।
यसको अर्को विशेषता हो, थ्रीडी म्यापिङ। यसमा रहेका अत्याधुनिक सेन्सर र ‘लिडार’ प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको थ्रीडी नक्सा तत्कालै तयार पार्छ।
प्राविधिकहरू भन्छन्, यस ड्रोनले मानिस आफैं छिर्न सम्भव नभएका, जलमग्न र भत्किएका सुरुङहरूमा पठाएर बेपत्ता नागरिकको यकिन अवस्था पत्ता लगाउन र उद्धारकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न निकै प्रभावकारी भूमिका खेल्नेछ।
स्विट्जरल्याण्डको यो अत्याधुनिक ड्रोनले नेपालका सुरुङ खोजी र उद्धार कार्यलाई नयाँ आयाम दिन सक्ने विश्वास व्यक्त गरिएको छ। यसले प्राकृतिक विपत्तिहरू र आपतकालीन अवस्थाहरुमा उद्धार कार्यलाई अझ अधिक सुरक्षित र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






