धरान औद्योगिक क्षेत्रमा नयाँ उद्योग थप, पुराना उद्योगहरू लीज सम्झौता रद्द
- सुनसरी ।
- धरान औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले धरान औद्योगिक क्षेत्रमा जमिन ओगटेर निष्क्रिय रहेका उद्योगहरूको लीज सम्झौता कानुनी प्रक्रिया अनुसार रद्द गरी नयाँ उद्योग थप गरेको छ।
सुनसरी । धरान औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले धरान औद्योगिक क्षेत्रमा जमिन ओगटेर निष्क्रिय रहेका उद्योगहरूको लीज सम्झौता कानुनी प्रक्रिया अनुसार रद्द गरी नयाँ उद्योग थप गरेको छ। यस कदमले क्षेत्रभित्र उत्पादनमुखी उद्योगहरूको प्रवर्द्धन गर्न र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यालय प्रमुख जीवनारायण बन्जाडेका अनुसार लामो समयदेखि सञ्चालनमा नआएका र सरकारी जग्गा लामो समयदेखि ओगटेका उद्योगहरूको लीज सम्झौता रद्द गरिएको हो। यस क्रममा नेपाल न्यून नेटवर्क प्रालि, शुभम् वाटर इन्डस्ट्रिज प्रालि, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज प्रालि र कमना मल्टिफोर्ड इन्डस्ट्रिज प्रालिका सम्झौता रद्द गरिएको छ।
साथै, उत्पादन नगर्ने तर नाम मात्रका उद्योगहरूलाई हटाएर नयाँ उद्योगहरू थपिएका छन्। ती उद्योगहरूमा प्रिती भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि, जिडि स्टिल इन्डस्ट्रिज प्रालि, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स प्रालि र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेको छन्। सूर्य डायमन्ड इन्डस्ट्रिजको सम्झौता केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ।
उद्योग कार्यालयले जग्गा ओगटेर रहेका उद्योगहरूको सम्पत्ति मूल्यांकन गरी कम्पनीको विनियमावली अनुसार सार्वजनिक प्रस्ताव आह्वान र लिज हस्तान्तरण गरेको छ। यस क्रममा पाँच वटा नयाँ उत्पादनमूलक उद्योगसँग सम्झौता गर्न सफल भएको जनाइएको छ।
धरान औद्योगिक क्षेत्रमा उत्पादनमुखी उद्योगहरूलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रको सक्रियता ल्याउने उद्देश्य रहेको कार्यालय प्रमुख बन्जाडेले बताए। नयाँ उद्योगहरू थपिएसँगै हालको आर्थिक मन्दी र लगानी सङ्कुचनको अवस्थामा ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो।
त्यसैगरी, नयाँ उद्योगहरूले करिब ३ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ। परियोजनाका अनुसार प्रीति भल्भले पानीका मिटर र फिटिङ सामग्री, जीडी स्टिल इन्डस्ट्रिजले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न र पशु आहार, र जेआर भेन्चर्सले भाँडावर्तन उत्पादन गर्ने छन्।
धरान औद्योगिक क्षेत्रभित्र पहिल्यै सञ्चालनमा रहेका उद्योगहरूले प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य, केमिकल्स, प्रेस, होजियारी, डेरी आदि वस्तु उत्पादन गर्दै आएका छन्। उद्योग क्षेत्रको सञ्चालनले स्वदेशी बजारको माग पूरा गर्न मात्र नभई केही वस्तु निर्यात गर्ने सम्भावना समेत देखिएको छ।
धरान औद्योगिक क्षेत्र भारतीय सरकारको सहयोगमा मंसिर २६, २०२९ सालमा शिलान्यास भएको थियो र पुस १, २०३२ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस क्षेत्रमा ३५ उद्योग रहेका छन्, जसमध्ये ३० सञ्चालनमा छन् र पाँच उद्योग स्थापना र निर्माणक्रममा छन्। सञ्चालनमा रहेका उद्योगहरूले करिब एक हजार श्रमिकलाई रोजगारी दिएका छन्।
क्षेत्रको कुल लगानी करिब २ अर्ब रुपैयाँ रहेको छ, जसमा निजी र स्वदेशी उद्योगहरूको लगानी १६९ करोड रुपैयाँभन्दा बढी छ। सरकारी क्षेत्रको लगानी १६ करोड २९ लाख रुपैयाँ पुगिसकेको छ। उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन अझै बाँकी भए पनि, बाँकी खाली स्थानमा नयाँ उद्योगभित्र्याउने प्रक्रिया निरन्तर जारी रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






