म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडियो
- म्याग्दी – २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडिएको छ।
- रघुगंगाका गाउँपालिका–७ मा रहेको ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यस परियोजनाको भौतिक संरचना, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि विद्युत् प्रवाह सुरु गरिएको हो।
म्याग्दी – २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडिएको छ। रघुगंगाका गाउँपालिका–७ मा रहेको ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यस परियोजनाको भौतिक संरचना, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि विद्युत् प्रवाह सुरु गरिएको हो। आयोजना प्रमुख शिवसागर यादवले जानकारी दिए, “गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा विद्युत् पठाउन थालिएको हो। परीक्षण सफल भएपछि १५ दिनभित्र व्यावसायिक उत्पादन सुरु हुनेछ।”
हालको सुक्खायाममा यस आयोजनाले १३.८६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। बाँध, विद्युतगृह, पाइप लाइन, प्रसारण लाइन र उपकरणहरूको जडान र परीक्षण सम्पन्न भएपछि परीक्षण उत्पादन सुरु गरिएको हो। २०८० सालमा निर्माण सुरु भएको यस आयोजना भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ। सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २९०० मिटर लामो मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ। विद्युतगृह परिसरमा दुईवटा युनिट (टर्वाइन) रहेको छ, जसमा स्वीचयार्ड पनि स्थापना गरिएको छ।
यो आयोजना रन अफ द रिभर प्रकृतिको हो। फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर करिब ६ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् परियोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२0 केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ। फेदीदेखि तिल्केनीचौरसम्मको प्रसारण लाइनको दूरी लगभग २३.५ किलोमिटर छ।
यस आयोजनाको लागत अनुमान ५ अर्ब १४ करोड रुपैयाँ रहेको छ। यसमा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् भने, प्रवर्द्धकको १० प्रतिशत लगानी र २० प्रतिशत सेयर जारी गरी सर्वसाधारणमार्फत लगानी जुटाइने योजना छ।
सडक स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण गत वैशाख–जेठमा रोध रोकिएका कारण, विद्युतगृह र प्रसारण लाइनको ढुवानीमा समस्या आएको थियो। यसअघि, राहुघाट र सहायक नदीहरूमा तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले आयोजना र त्यसको क्यासकेडको रूपमा ४८.५ मेगावाट क्षमताको राहुघाट जलविद्युत् सञ्चालनमा आएको छ। साथै, रघुगंगाको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना गत भदौदेखि व्यावसायिक उत्पादनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगाका प्रवर्द्धकले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






