विजयादशमीमा प्रधानमन्त्री बालेनको आह्वान: भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट बनौँ
- काठमाडौं ।
- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हरेक नागरिकलाई “सरकार हाम्रो लागि छ” भन्ने अनुभूति गराउन आवश्यक रहेको बताएका हुन्।
“आजको दिनमा आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन तथा हरेक नागरिकलाई ‘हाम्रो लागि सरकार छ’ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,” सन्देशमा भनिएको छ।
प्रधानमन्त्री बालेनले यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उनको भनाइ छ। विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरेका छन्।
देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै प्रधानमन्त्रीले विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई यस पर्वले एकताको सूत्रमा बाँध्ने बताएका छन्।
वर्षौँदेखि भेटघाट हुन नपाएका साथीभाइ र आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा पनि विजयादशमीको महत्त्व रहेको उल्लेख गर्दै उनले सबैलाई सद्भाव, एकता, सम्मान र मायासहित पर्व मनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






