ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता प्रभावित, समस्या समाधानमा जुट्यो सूचना प्रविधि विभाग
- काठमाडौं ।
- अनलाइन प्रणालीमा आएको समस्याका कारण कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ।
काठमाडौं । अनलाइन प्रणालीमा आएको समस्याका कारण कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ। केही दिनदेखि कम्पनीको नाम प्रस्ताव गर्ने तथा दर्ता प्रक्रिया अघि बढाउने क्रममा आवश्यक ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीको काम रोकिएको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनी दर्ताका लागि अनलाइन प्रणालीले ओटीपी माग्छ। तर, सूचना प्रविधि विभागको सर्भरमा आएको खराबीका कारण ओटीपी नआएपछि दर्ता प्रक्रिया अघि बढ्न सकेको छैन।
सेवाग्राहीबाट दर्ता प्रक्रिया रोकिएको भन्दै गुनासो आउन थालेपछि कार्यालयले समस्या सूचना प्रविधि विभागको प्रणालीमा रहेको जानकारी दिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीले कार्यालयको आन्तरिक प्रणालीमा पनि सामान्य समस्या भए तापनि ओटीपी नआउनुको मुख्य कारण विभागको प्रणालीमा आएको समस्या रहेको बताए।
“अघिल्लो साता बिहीबार–शुक्रबारदेखि समस्या देखिएको थियो। लगातार तीन दिनसम्म ओटीपी नआएर काम रोकियो। सोमबार केही समय प्रणाली चलेर काम भए पनि फेरि समस्या दोहोरिएको छ,” उनले अनलाइनखबरसँग भने।
कार्कीका अनुसार प्रणाली पूर्णरूपमा बन्द भने भएको छैन। बीचबीचमा चल्ने र रोकिने समस्या भइरहेको छ। सफ्टवेयरमा प्राविधिक अद्यावधिक वा परिमार्जन गर्दा यस्तो समस्या आएको हुन सक्ने उनको भनाइ छ। सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले कम्पनी दर्ता प्रणालीमा देखिएको समस्या समाधानका लागि काम भइरहेको बताए। उनका अनुसार चाँडै प्रणाली पूर्णरूपमा सञ्चालनमा आएपछि दर्ता प्रक्रिया नियमित हुनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






