सिरहामा २५ हजार ५ सय रुपैयाँका नक्कली नोटसहित दुई जना पक्राउ
- सिरहा ।
- सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्।
सिरहा । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका दुई जनालाई प्रहरीले जाँच गरेको थियो।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले शंकास्पद लागेपछि उनीहरूको जाँच गरेको थियो। त्यसक्रममा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँको साथबाट नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका तीन थान र १ हजार रुपैयाँ दरका २४ थान गरी २७ थान नोट बरामद भएका छन्। बरामद नोटको कुल मूल्य २५ हजार ५ सय रुपैयाँ रहेको छ। दुवै जनालाई बरामद नोटसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






