कुलेखानी जलाशयको सतह बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
- मकवानपुर ।
- चक्रवात ‘अर्नव’को प्रभावले जलाधार क्षेत्रमा निरन्तर वर्षा भएपछि कुलेखानी जलाशयको पानीको सतह बढिरहेको छ।
मकवानपुर । चक्रवात ‘अर्नव’को प्रभावले जलाधार क्षेत्रमा निरन्तर वर्षा भएपछि कुलेखानी जलाशयको पानीको सतह बढिरहेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार शनिबार बिहानसम्म जलाशयको सतह समुद्र सतहबाट १ हजार ५२७.६६ मिटर पुगेको छ। दिउँसोसम्म १ हजार ५२८ मिटर पार हुन सक्ने अनुमान गरिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह बढिरहेकाले नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार दिउँसो २ बजेसम्म मध्यम वर्षा हुने र त्यसपछि मौसममा सुधार आउने सम्भावना छ।
शनिबार बिहान ६ बजे जलाशयको सतह १ हजार ५२७.४२ मिटर थियो। दुई घण्टापछि, बिहान ८ बजे, यो बढेर १ हजार ५२७.५० मिटर पुगेको थियो। त्यसपछि पनि सतह निरन्तर बढिरहेको प्रशासनले जनाएको छ।
सम्भावित जोखिम कम गर्न नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरेको छ। पहिलो युनिटबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतका अनुसार तीनवटै युनिट लगातार सञ्चालन गर्दा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुन्छ।
जलाशयको अधिकतम भण्डारण क्षमता समुद्र सतहबाट १ हजार ५३० मिटर हो। जलाशय भरिन अझै करिब साढे २ मिटर बाँकी रहेकाले तत्काल बाँध खोल्नुपर्ने अवस्था नरहेको राउतले बताए। आवश्यक परे बाँधमा बालुवाका बोरा राखेर थप ५० सेन्टिमिटरसम्म पानी संकलन गर्न सकिने उनको भनाइ छ।
“अहिले जलाधार क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। जलाशय भरिने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिएर मात्र बाँध खोल्छौँ,” राउतले भने।
बाढीको पूर्वसूचना दिन आयोजनाले सिस्नेरीलगायत तल्लो तटीय क्षेत्रका विभिन्न स्थानमा साइरन जडान गरेको छ। जलाशयको सतह १ हजार ५२९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायका सूचना पालना गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






