बाढीले बगाएका ३३ झोलुङ्गे पुल पुनर्निर्माण अन्योलमा, चार स्थानमा तुइन सञ्चालन
- काठमाडौँ ।
- चीनतर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका ५३ झोलुङ्गे पुलमा क्षति पुर्याएको एक महिना बितिसकेको छ।
काठमाडौँ । चीनतर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका ५३ झोलुङ्गे पुलमा क्षति पुर्याएको एक महिना बितिसकेको छ। पुलहरू क्षतिग्रस्त भएपछि कैयौँ ग्रामीण बस्तीको आवागमन अवरुद्ध भएको थियो।
स्थानीय पूर्वाधार विकास विभागले तत्काल आवागमन सहज बनाउन चार स्थानमा अस्थायी तुइन सञ्चालनमा ल्याएको छ। बाढीले सामान्य क्षति पुर्याएका पुलमध्ये एउटा मर्मत सम्पन्न भएको छ भने १२ वटाको मर्मत अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।
विभागका अनुसार बाढीले ३३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ। बाँकी २० वटा सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा छन्। पूर्ण रूपमा बगेका पुल पुनर्निर्माण गर्न समय लाग्ने भएकाले विभागले तत्कालका लागि वैकल्पिक आवागमन र क्षतिग्रस्त पुलको मर्मतलाई प्राथमिकता दिएको हो।
चार स्थानमा तुइन सञ्चालन
पुल बगाएपछि नदी वारपार गर्न कठिनाइ भएका स्थानीयका लागि विभागले चार स्थानमा तुइन निर्माण गरी सञ्चालनमा ल्याएको छ।
नुवाकोटको विदुर नगरपालिका–१ स्थित इन्द्रेणी चौर र गुम्बा डाँडा जोड्ने त्रिशूली नदीमाथिको २५५ मिटर लामो तुइनमा सुरक्षित र छिटो आवागमनका लागि मोटराइज्ड प्रणाली जडान गरिएको छ। विदुर नगरपालिका–५ को देवीघाटमा १८० मिटर लामो तुइन पनि सञ्चालनमा आएको छ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ जोड्ने स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेँसीमा तुइन जडान गरिएको छ।
स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीले विपद्पछि स्थानीयको आवागमन सहज बनाउन तत्काल चार स्थानमा वैकल्पिक व्यवस्था गरिएको बताए। उनका अनुसार आवश्यकताअनुसार अन्य जोखिमयुक्त स्थानमा पनि अस्थायी आवागमनको व्यवस्था गर्ने तयारी छ।
एउटा पुल सञ्चालनमा, १२ वटाको मर्मत अन्तिम चरणमा
बाढीबाट सामान्य क्षति पुगेका पुलमध्ये नुवाकोटको बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर गाउँपालिका–२ जोड्ने पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सम्पन्न भई सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि स्थानीयलाई दैनिक कामकाज, विद्यालय आवतजावत र कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ।
त्रिशूली करिडोरअन्तर्गत धादिङ, नुवाकोट र गोरखाका १२ वटा क्षतिग्रस्त पुलको मर्मत अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। मर्मत भइरहेका पुलमा धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महेशदोभान मास्टर, चिरौँदी खोला, शीतलबजार–क्युरेनीटार, बेल्खु–भुतिया र महादेवस्थान झोलुङ्गे पुल छन्।
त्यस्तै, नुवाकोट र धादिङ जोड्ने केउरेनी–गहते र फोक्सेटार, नुवाकोटको जिलिङ तथा गोरखा र धादिङको सीमा क्षेत्र जोड्ने बाँदरे र धवादीघाट पुलको मर्मत पनि अन्तिम चरणमा पुगेको छ। यी पुल केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी छ।
मर्मत गर्न बाँकी थप सात पुलका लागि आवश्यक स्टिलका पार्टपुर्जाको टेन्डर प्रक्रिया पूरा भएको विभागले जनाएको छ। पहिलो चरणका निर्माण सामग्री खरिद भइसकेका छन् भने दोस्रो चरणका सामग्रीको सम्झौता भई पहिलो खेप आपूर्ति भएको छ।
लठ्ठा अभाव र खरिद प्रक्रियाले पुनर्निर्माणमा ढिलाइ
बाढीले पूर्ण रूपमा बगाएका ३३ पुलको पुनर्निर्माण तत्काल सुरु गर्न कठिन देखिएको छ। नयाँ पुलका लागि आवश्यक मुख्य सामग्री ‘स्टिल वायर रोप’ नेपालमा मौज्दात नभएकाले भारतबाट आयात गर्नुपर्ने विभागको भनाइ छ। त्यसका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ।
यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणालीमा प्राविधिक समस्या आएपछि प्रक्रिया हार्ड कपीमार्फत अघि बढाउनुपरेको छ। यसले बोलपत्र आह्वान, मूल्याङ्कन र सम्झौता लम्बिने तथा पुनर्निर्माणमा थप ढिलाइ हुने देखिएको छ।
बाढी प्रभावित क्षेत्रका पूर्वाधार पुनर्स्थापना, मर्मत र नयाँ संरचना निर्माणका लागि विभागले प्रारम्भिक रूपमा १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरेको छ। यसमध्ये आंशिक क्षति भएका पुल मर्मतमा १५ करोड, पूर्ण रूपमा बगेका ३३ पुल पुनर्निर्माणमा ६० करोड र अवरुद्ध ग्रामीण सडक खुलाउन तथा वैकल्पिक मार्ग व्यवस्थापनमा ४० करोड रुपैयाँ खर्च हुने अनुमान छ।
बाढी आएको एक महिना बितिसक्दा पनि दीर्घकालीन पुनर्निर्माण सुरु हुन नसकेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले आवश्यक बजेट सुनिश्चित गरी खरिद प्रक्रिया छिटो अघि बढाउन सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






