रास्वपाको पालिका अभियान असोज २० देखि, ७५३ वटै स्थानीय तह पुग्ने
- काठमाडौं ।
- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा अभियान सञ्चालन गर्ने भएको छ ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टीका केन्द्रीय सदस्यहरू अभियानमा सहभागी हुनेछन् । उनीहरू ७७ वटै जिल्लाका ७५३ पालिकामा पुग्ने रास्वपा सहमहामन्त्री निशा डाँगीले जानकारी दिएकी छन् ।
डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका कुरा सुन्नुका साथै पार्टीका योजना र धारणा उनीहरूसमक्ष पुर्याउनु हो । “हामी तपाईंका कुरा सुन्न मात्रै होइन, यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन पनि घरदैलोमा आउँदैछौँ,” उनले भिडियो सन्देशमार्फत भनेकी छन् ।
उम्मेदवार छनोट र स्थानीय सरकारबारे जानकारी
रास्वपाका अनुसार अभियानका दुई मुख्य उद्देश्य छन् । पहिलो, स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिबारे नागरिकलाई जानकारी दिनु । दोस्रो, वर्तमान सरकार गठन भएयता संसद् र सरकारमार्फत भएका नीतिगत पहल तथा कामबारे जानकारी गराउनु ।
स्थानीय सरकार नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक विधिबारे बुझाउन अभियान सञ्चालन गर्न लागिएको डाँगीले बताएकी छन् । आगामी फागुनमा हुने स्थानीय तहको निर्वाचनका लागि सक्षम, इमानदार र नेतृत्व लिन तयार व्यक्तिलाई कसरी उम्मेदवारका रूपमा अघि बढाउने भन्नेबारे नागरिकलाई जानकारी गराउनु पनि अभियानको उद्देश्य रहेको उनको भनाइ छ ।
रास्वपाले यसअघि सार्वजनिक गरेको उम्मेदवार छनोट रूपरेखाअनुसार ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक छनोट प्रक्रियाबाट उम्मेदवार छान्ने जनाएको छ ।
सरकारका काम र आगामी योजनाबारे जानकारी दिने
सरकार गठन भएको करिब छ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था र आगामी योजनाबारे अभियानमा विस्तृत जानकारी दिइने रास्वपाले जनाएको छ । “यो अभियान चुनावको तयारी मात्रै होइन,” डाँगीले भनेकी छन्, “स्थानीय सरकारलाई अझ जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने महत्वपूर्ण लोकतान्त्रिक अभ्यास पनि हो ।”
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






