जनकपुरधाम: सुविधाजनक र आधुनिक बसपार्कको अभावले जनकपुरधाम अस्तव्यस्त
- जनकपुरधाम ।
- मधेस प्रदेशको राजधानी जनकपुरधाममा अझै एउटा सुविधा सम्पन्न बसपार्क बन्न सकेको छैन।
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अझै एउटा सुविधा सम्पन्न बसपार्क बन्न सकेको छैन। प्रदेशको राजधानी भए पनि फुटपाथ अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव र अस्तव्यस्त सडक व्यवस्थापनले सहरको अवस्था झनै जटिल बनेको छ। विशेषगरी, बसपार्कको अभावमा यात्री र यातायात व्यवसायी दुवैलाई समस्या झेल्नु परेको छ।
अहिले बसपार्क क्षेत्र निकै दुर्गन्धित र अव्यवस्थित बनेको छ। बसपार्क भित्रका सडकमा खाल्डाखुल्डी र पानी जम्ने स्थानले यात्रुहरूलाई कष्ट दिने गरेको छ। सडकको अवस्थाले गर्दा गाडी गुड्दा यात्रुहरूको कपडा हिलाम्य हुने र यात्रु प्रवेश गर्न नै मन नपराउने स्थिति सिर्जना भएको हो। त्यसैले अहिले बसपार्कलाई गाडी पार्किङको मात्र स्थान बनाइएको छ, जसले गर्दा टिकट काउन्टर र यात्रु चढ्न आउने सर्वसाधारणको संख्या निकै कम भएको छ।

बसपार्कको मुख्य प्रवेशद्वारमा लाखौं खर्चेर बनाइएको भव्य प्रवेशद्वार निर्माण भइरहेको भए पनि भित्र प्रवेश गर्नासाथ हिलो, फोहोर र सडेगलेका पानीले भरिएको देखिन्छ। बसहरू अव्यवस्थित रुपमा पार्किङ गरिएको र निर्माणाधीन अवस्थामा रहेको बसपार्कको भौतिक पूर्वाधार पनि खण्डहरको रुपमा परिणत हुँदै गएको छ। बसपार्कभित्र घाँस र झाडीको जस्तै उँगने क्रम जारी छ भने, व्यवस्थित शौचालयको अभावले यात्रुहरू झाडीमा शौच गर्न बाध्य छन्।

यातायातकर्मीहरू पनि बसपार्कको अवस्थालाई लिएर निराश छन्। मोहन प्रसाद साहले भने, “यहाँको अवस्था देख्नै सकिन्न, बसपार्क नामको लागिमात्रै हो।” उनले भने, “यात्रुहरू यहाँ आउनै छाडिसकेका छन्, बाह्य चोकबाट बस चढ्ने क्रम बढ्दो छ।” यातायातकर्मीहरूका अनुसार, यस अवस्थाले यात्री र गाडी दुबैलाई समस्या भएको छ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाले यस बसपार्कलाई आधुनिक र सुविधायुक्त बनाउने योजना बनाएर केही वर्षअघि शिलान्यास गरेको थियो। २०७९ असारमा तत्कालीन शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गरे पनि, निर्माण कार्य अहिलेसम्म पूर्ण हुन सकेको छैन। निर्माणको लागत करिब १० करोड रुपैयाँभन्दा बढी रहेको यो परियोजना दुई चरणमा निर्माण हुने योजना थियो। पहिलो चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर, वेटिङ सेट, बस पार्किङ यार्ड, गाडि पार्किङ र फुटपाथ निर्माणको योजना थियो। दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय, आवास र ग्यारेज जस्ता सुविधासहितको बहुउद्देशीय भवन निर्माणको योजना थियो।

तर, निर्माण कार्य ढिलाइ र सामग्रीको मूल्यवृद्धिका कारण काम अझै पूर्ण हुन सकेको छैन। संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख विनोद सिंहले भने, “कामको प्रगति भने केही भएको छ, तर सडक नबनिएर समस्या जटिल बनेको छ। यदि यो वर्षको पुसभित्र काम सम्पन्न भएन भने ठेक्का तोड्ने र कारबाहीको प्रक्रिया अघि बढाउने तयारी छ।”

यसैबीच, बसपार्कको दोस्रो चरणको कार्यतालिका तय भए पनि, सडक र अन्य पूर्वाधारको अभावले निर्माणकार्य अझै ढिलाइ भएको छ। यसले गर्दा, जनकपुरवासी र यातायात व्यवसायीहरू निराश भएका छन्। बसपार्कको सुविधाभाव र ढिलाइले गर्दा धार्मिक पर्यटकको मुख्य केन्द्र जनकपुरधामको छवि पनि प्रभावित हुने खतरा देखिएको छ।
यस्तो अवस्थामा, सरकार र स्थानीय निकायले शीघ्रै यस अवस्थालाई सुधार गर्न आवश्यक छ। सुविधा सम्पन्न, व्यवस्थित र स्वच्छ बसपार्कको निर्माणले जनकपुरधामको सौदर्य र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






