singel post top banner

न्यायाधीशमाथि उठेका प्रश्न छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गर्न रास्वपा सांसदको सुझाव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक १६, २०८३
5 Views
न्यायाधीशमाथि उठेका प्रश्न छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गर्न रास्वपा सांसदको सुझाव
समाचार सारांश
  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूले प्रश्न उठेका न्यायाधीशबारे छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूले प्रश्न उठेका न्यायाधीशबारे छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

रास्वपाबाट निर्वाचित कानुन व्यवसायी पृष्ठभूमिका १४ सांसदले शुक्रबार सिंहदरबारमा छलफल गरेका थिए। छलफलपछि उनीहरूले न्यायाधीशमाथि उठेका विषयको अध्ययन र छानबिनका लागि संवैधानिक प्रक्रियाअनुसार महाभियोग सिफारिस समिति गठन गर्नुपर्ने राय दिएका हुन्।

“हामी सबै कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूको राय महाभियोग सिफारिस समिति गठन गरेर अघि बढ्नुपर्छ भन्ने छ। विषयको अध्ययन र छानबिन गर्नुपर्छ। सर्वोच्च अदालतका न्यायाधीशका हकमा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार निगरानी गर्ने जिम्मेवारी संसद्कै हो,” छलफलमा सहभागी एक सांसदले अनलाइनखबरसँग भने।

सांसदहरूका अनुसार अन्य प्रकृतिको संयन्त्र गठन गर्नुको संवैधानिक र कानुनी आधार कमजोर हुन सक्छ। “संसद्ले उच्चस्तरीय छानबिन समिति बनाए पनि त्यसको वैधानिकता प्रश्नमा पर्न सक्छ। संविधानले चिनेको संयन्त्र महाभियोग सिफारिस समिति हो,” ती सांसदले भने, “प्रमाण संकलन र निर्णयका लागि आवश्यक अधिकार समितिलाई संविधानले दिएको छ। महाभियोग लगाउनुपर्ने नदेखिए समितिले त्यसैअनुसार सिफारिस गर्छ; आधार देखिए प्रक्रिया अघि बढ्छ।”

इनम सापकोटाको मोबाइल तथा अन्य विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीश र प्रहरीका उच्च अधिकारीसँग भएका संवाद तथा कारोबारसम्बन्धी विवरण सार्वजनिक भएपछि न्याय क्षेत्रबारे प्रश्न उठेका छन्। सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेट गरेको विषय पनि सार्वजनिक भएको छ। यही सन्दर्भमा सत्तारूढ रास्वपाका सांसदहरू छलफलमा जुटेका थिए।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रास्वपा सांसद मधुकुमार चौलागाईंले प्रश्न उठेका न्यायाधीशमाथि महाभियोग लगाउने वा नलगाउने र लगाउने निर्णय भए कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताएका थिए। “रास्वपाबाट कानुन व्यवसायी पृष्ठभूमिका कम्तीमा १४ जना सांसद छौँ। हामी बसेर यस विषयमा छलफल गरिरहेका छौँ,” उनले भनेका थिए।

छलफलमा सहभागी अर्का सांसदका अनुसार कानुन पृष्ठभूमिका सांसदहरूको सुझावलाई पार्टी नेतृत्वले सकारात्मक रूपमा लिएको छ। “हाम्रो सुझावलाई पार्टी सचिवालय बैठकले पनि अनुमोदन गरेको अनुभूति भएको छ,” उनले भने।

शनिबार बसेको रास्वपा सचिवालय बैठकले न्याय क्षेत्रमाथि उठेका विषयको निरूपणका लागि संसदीय प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको थियो। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार न्याय क्षेत्रको पुनर्संरचनासहितका विषयमा अघि बढ्ने संवैधानिक बाटो संसद् नै हो।

“यदि समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने त्यसको संवैधानिक बाटो संसद् हो। संसद्मार्फत प्रक्रिया अघि बढाइनुपर्छ,” खरेलले भनेका छन्।

संविधानमा के छ?

नेपालको संविधानको धारा १०१ को उपधारा २ ले प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने व्यवस्था गरेको छ।

संविधानअनुसार संविधान वा कानुनको गम्भीर उल्लंघन, कार्यक्षमताको अभाव वा खराब आचरण, पदीय कर्तव्यको इमानदारीपूर्वक पालना नगरेको अवस्था वा आचारसंहिताको गम्भीर उल्लंघन भए महाभियोग प्रक्रिया अघि बढाउन सकिन्छ।

प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले महाभियोग प्रस्ताव पेस गर्न सक्छन्। प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित भए सम्बन्धित व्यक्ति पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

महाभियोग प्रस्तावमाथि छानबिन र सिफारिस गर्न प्रतिनिधिसभामा महाभियोग सिफारिस समिति रहने व्यवस्था छ। तर २१ फागुन २०८२ मा निर्वाचित प्रतिनिधिसभामा उक्त समिति गठन भइसकेको छैन। समिति गठन गरेर संवैधानिक प्रक्रियाअनुसार अघि बढ्नुपर्ने रास्वपा सांसदहरूको सुझाव छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
नेपाल प्रहरीको सक्रिय सुरक्षा योजना, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता
नेपाल प्रहरीको सक्रिय सुरक्षा योजना, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या
बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?