कांग्रेसकी सीता थपलियाको डेरासहित तीन घरमा चोरी, चार भारतीय पक्राउ
- काठमाडौं ।
- नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)को डेरासहित काठमाडौंका तीन घरमा चोरी गरेको आरोपमा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)को डेरासहित काठमाडौंका तीन घरमा चोरी गरेको आरोपमा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय राजेन्द्रकुमार भनिने लल्लु पोदार र ४६ वर्षीया विणा देवी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार विणा देवी र विकास पोदार आमाछोरा हुन्।
प्रहरीका अनुसार उनीहरूले कलंकीको तासिङडोल मार्गस्थित किसन सिंह बस्नेतको घर र त्यही घरमा डेरा गरी बस्ने सांसद थपलियाको कोठामा चोरी गरेका थिए। साथै, कलंकीकै रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा पनि चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुर्खेतबाट ५ कात्तिकमा काठमाडौं फर्किएर डेरामा पुग्दा सामान चोरी भएको थाहा पाएपछि सांसद थपलियाले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले चोरीका सामान पोका पारेर भारत जाने तयारी गरिरहेका बेला चारै जनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले बताए।
प्रहरीका अनुसार उनीहरूले सुनचाँदीका गरगहनासँगै वाइनसमेत चोरी गरेका थिए। दशैंलाई लक्षित गरेर चोरी गरेको र सामान भारत लगेर बेच्ने तयारी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट विभिन्न आकारका सुनचाँदीका गरगहना र भाँडावर्तन गरी ३२ थान सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






