एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने
- काठमाडौं ।
- नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतियोगिताका लागि सुरक्षा योजना बनाएर काम थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमको अवलोकन गरेको थियो। प्रहरीले प्रतियोगिताको सुरक्षालाई विभिन्न क्षेत्रमा विभाजन गरी आवश्यक व्यवस्था मिलाएको छ।
खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठवटा होटलको सुरक्षा, होटलदेखि स्टेडियमसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन तथा खेलका बेला स्टेडियम र दर्शकको सुरक्षालाई योजनामा समेटिएको एसएसपी घिमिरेले बताए।
उद्घाटन र समापन समारोहमा भीआईपी तथा भीभीआईपीको आवागमन हुने भएकाले उनीहरूको सुरक्षाका लागि पनि विशेष व्यवस्था गरिनेछ। सुरक्षामा सादा पोसाकका प्रहरीसमेत परिचालन हुनेछन्।
प्रहरीले सीसीटीभी र ड्रोनबाट निगरानी गर्नुका साथै डग स्निफिङ पनि गर्ने जनाएको छ। स्टेडियम वरपर जडान गरिएका सीसीटीभी क्यामेराको निगरानी त्यहीँ खटिएका प्रहरीले गर्नेछन् भने अन्य क्षेत्रका क्यामेराको निगरानी प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट हुनेछ। नेपाल प्रहरीसँगै बाह्य सुरक्षाका लागि सशस्त्र प्रहरी बल पनि परिचालन गरिने बताइएको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






