नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
- काठमाडौं ।
- यस वर्ष नवरात्रमा तिथि वृद्धि भएसँगै दुई दिन महाअष्टमी परेको छ।
काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएसँगै दुई दिन महाअष्टमी परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ। समितिले कात्तिक १ गते गरिएका महाअष्टमीका कर्म कात्तिक २ गते पनि दोहोर्याउन सुझाव दिएको छ।
समितिका पूर्वसदस्य तथा वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँघर वा पूजाकोठामा अष्टमीकै विधि अपनाउनुपर्छ।
“कात्तिक २ गते सोमबार पनि नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्छ,” उनले भने। उनका अनुसार अष्टमीका दिन गरिने अन्य कर्म पनि दुवै दिन दोहोर्याउनुपर्नेछ।
समितिले स्वीकृति दिएका पात्रोअनुसार आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने उल्लेख छ। विजयादशमीमा लगाइने टीकासँगै १० रातका जमरा लगाउने चलन रहनेछ। देवीको साधना र पूजा–आराधना एक दिन थपिँदैमा धार्मिक विधिमा फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा
हनुमानढोकामा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति हुनेछ। दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीले पालना गर्दै आएको परम्पराअनुसार पूजा गर्ने निर्णय गरिएको हो।
हनुमानढोकामा महाअष्टमीका कर्मपछि अर्को दिन महानवमीको पूजा–आराधनालगायत विधि गर्ने परम्परा छ। त्यसैले कालरात्रि पूजा सोमबार राति गर्न लागिएको प्रधानले बताइन्।
हनुमानढरबारको दशैँघरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो। दरबार हेरचाह अड्डाका अनुसार मूल पूजा भने सोमबार हुनेछ। महाअष्टमीको राति हनुमानढोकामा १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






