जापानको पीआर त्यागेको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको दाबी
- काठमाडौँ ।
- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी बसोबास अनुमति (पीआर) त्यागिसकेको दाबी गरेका छन्।
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी बसोबास अनुमति (पीआर) त्यागिसकेको दाबी गरेका छन्। बुधबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले सोधेका पूरक प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
सांसदहरू पद्मा अर्याल, मधु चौलागाईं र राजीव खत्रीलगायतले पीआर त्यागेपछि थापाको नेपाली नागरिकताको अवस्था के हुन्छ भनेर प्रश्न गरेका थिए। उनीहरूले रवि लामिछानेको उदाहरण दिँदै पीआर त्यागेको १० वर्ष हुनुपर्ने निर्देशिका थापाको हकमा लागू हुन्छ कि हुँदैन भन्नेबारे पनि जिज्ञासा राखेका थिए।
सांसद चौलागाईंले थापाले पीआर त्यागेको ६ महिना मात्र भएको जानकारी आएको उल्लेख गर्दै उनको नियुक्ति निर्देशिकाअनुसार हुन्छ कि हुँदैन भनेर प्रश्न गरिन्। “सरकारी तलब–भत्ता खाएको नागरिकताको स्थिति के हुन्छ? पनागाभाको गभर्नरको सल्लाहकार भएको भनिएको छ। निर्देशिकाले १० वर्ष भन्छ, तर पीआर त्यागेको ६ महिना भएको छ। यो त्याग रणनीतिक मात्र हो भनेर किन नभन्ने?” उनले भनिन्। देशको साख जोगाउनु मुख्य कुरा भएको उनको भनाइ थियो।
जवाफमा थापाले आफूले विगतमा पनि कूटनीतिक सम्बन्ध विस्तारका लागि काम गरेको र जापानमा रहँदा नेपाललाई सहयोग गरेको बताए। अब पनि नेपालको सेवा गर्न जापान नै रोजेको उनको भनाइ थियो।
“मेरी श्रीमती र दुई छोरा जापानमा बस्छन्। उनीहरूको नागरिकता नेपाली नै छ। हामी कहिल्यै नेपालबाट भावनात्मक रूपमा टाढा भएका छैनौँ,” थापाले भने। उनले जापानमा अहिलेसम्म कुनै कम्पनी नखोलेको दाबीसमेत गरे।
राजदूतमा नाम अनुमोदन भए परिवारसम्बन्धी विषयमा कानुनी प्रक्रियाअनुसार अघि बढ्ने उनले बताए। टोकियोभन्दा धेरै टाढा आफ्नो घर रहेको स्वीकार गर्दै उनले घर श्रीमतीको स्वामित्वमा रहेको जानकारी दिए।
“चार आना पनि नभएको जग्गामा सानो घर छ। त्यो श्रीमतीको स्वामित्वमा छ,” उनले भने, “त्यहाँ कानुनी रूपमा काम गरेर कमाएको पैसाले घर किन्न पनि पाइन्छ।”
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






