अमेरिका-इरान तनाव र होर्मुज जलमार्ग विवादले तेल बजारमा फेरि देखायो अस्थिरता
- काठमाडौँ ।
- अमेरिका र इरानबीच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ।
काठमाडौँ । अमेरिका र इरानबीच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ। पश्चिम एसियामा बढेको तनावले दुई देशबीच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेको हो।
यस तनावका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने इन्धन ढुवानी पुनः सुस्त भएको छ। सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ५८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ७२.५७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) क्रुडको मूल्य प्रति ब्यारेल ८८ सेन्ट अर्थात् १.३ प्रतिशतले बढेर ७०.११ डलर पुगेको छ।
आईएनजी का विश्लेषकहरूका अनुसार तेल बजारमा अझै पनि धेरै जोखिमहरू कायमै छन्। गत फेब्रुअरीको अन्त्यमा इरानमाथि सुरु भएको अमेरिका–इजरायल युद्धपछि गत हप्ता सो क्षेत्रबाट तेल ढुवानी उच्च विन्दुमा पुगेको थियो, जसका कारण ब्रेन्ट क्रुडको मूल्यमा १०.६ प्रतिशतको गिरावट आएको थियो।
तर, होर्मुज जलमार्गमा कतारसँग जोडिएको तेल ट्याङ्करहरू र अन्य जहाजमाथि पुनः आक्रमण भएपछि ढुवानी प्रक्रिया फेरि सुस्त भएको छ। यो घटना अन्तरिम शान्ति सम्झौतापछि भएको सबैभन्दा ठूलो सैन्य टकरावको रूपमा देखिएको छ, जसले अमेरिका र इरान दुवैलाई आ–आफ्नो पक्षबाट आक्रमण गर्न उक्साएको छ।
तेलको मूल्य वृद्धिलाई रोक्न अमेरिका र इरानले खाडी क्षेत्रमा जारी शत्रुता अन्त्य गर्न र होर्मुज जलमार्गको विवादबारे पुनः वार्ता अघि बढाउने सहमति गरेका छन्। एएनजेटका विश्लेषकहरूका अनुसार बजारले अब फारसको खाडीबाट तेल आपूर्ति सुविधाजनक हुने र पूर्वाधार सुधार हुने अपेक्षा पुनः मूल्याङ्कन गरिरहेको छ। यद्यपि, ट्याङ्करहरूको चाप, क्षतिग्रस्त पूर्वाधार र उत्पादन बन्दका कारण भौतिक रूपमा तेलको प्रवाह अझै संकुचित छ। आपूर्ति व्यवस्था युद्धपूर्वको अवस्थामा फर्कन यस वर्षभरि लाग्ने अनुमान गरिएको छ।
यसैबीच, साउदी अरबको तेल कम्पनी अरामकोले चार महिनापछि शुक्रबारदेखि होर्मुज जलमार्गको पश्चिममा रहेको रास तनुरा टर्मिनलबाट कच्चा तेलको लोड प्रक्रिया पुनः सुरु गरेको छ। यद्यपि, आइतबार सोही टर्मिनलमा भएको हेलिकप्टर दुर्घटनामा १४ जना नागरिकको मृत्यु भए पनि तेल लोडिङ कार्य निरन्तर जारी रहेको हो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






