कटारीमा टिपर सञ्चालनको विवाद चर्कियो, व्यवसायीको प्रदर्शनले सडक अवरुद्ध
- उदयपुर ।
- कटारी क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाइएको विरोधमा व्यवसायीहरूले प्रदर्शन गर्दै मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्ड अवरुद्ध गरेका छन्।
उदयपुर । कटारी क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाइएको विरोधमा व्यवसायीहरूले प्रदर्शन गर्दै मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्ड अवरुद्ध गरेका छन्। व्यवसायीहरूले टिपर सडकमा तेर्स्याएपछि कटारी बजार प्रवेश गर्ने सडकसमेत प्रभावित भएको छ।
सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनको विषयलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढ्दै गएको छ। स्थानीयको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि आफ्नो व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले कानुनी र व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने, चुनढुंगा ढुवानी नरोक्नुपर्ने तथा आफ्नो रोजगारी र लगानीको संरक्षण गर्नुपर्ने माग राखेका छन्।
यसअघि पनि कटारी नगरपालिका–४ को सिम्ले बजार क्षेत्रमा टिपर व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले टिपर तेर्स्याएर सिद्धिचरण लोकमार्गसमेत अवरुद्ध गरेका थिए। प्रहरीले हस्तक्षेप गरेपछि केही समयमै सडक खुलाइएको थियो।
स्थानीयवासीले भने बस्ती हुँदै भारी टिपर सञ्चालन गर्दा सडक, वातावरण र जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन्। कटारी नगरपालिका–७ को मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहाले सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न माग गरेका छन्।
व्यवसायीको प्रदर्शन र स्थानीयको विरोधका कारण कटारीमा चुनढुंगा ढुवानीको विवाद थप चर्किएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा अन्य सवारीसाधनको आवतजावतमा समस्या भएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






