म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
- म्याग्दी — असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि म्याग्दीका सडक, घर, विद्युत् संरचना र बस्तीमा ठूलो क्षति पुग्यो।
- बाढीले सडक बगायो, पहिरोले घर भत्कायो र पुर्यो, विद्युत्का पोल ढाल्यो तथा बस्तीमा गेगर थुपार्यो।
म्याग्दी — असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि म्याग्दीका सडक, घर, विद्युत् संरचना र बस्तीमा ठूलो क्षति पुग्यो। बाढीले सडक बगायो, पहिरोले घर भत्कायो र पुर्यो, विद्युत्का पोल ढाल्यो तथा बस्तीमा गेगर थुपार्यो। केही दिनअघिसम्म जिल्लाका धेरै ठाउँमा विस्थापित परिवारको पीडा र उजाडिएका बस्ती देखिन्थे।
अहिले भने जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायी सक्रिय भएका छन्। कतै सडक खुलाउन श्रमदान भइरहेको छ, कतै विद्युत्का पोल गाड्ने र तार तान्ने काम। बजारका घरमा थुप्रिएको हिलो पन्छाउनेदेखि बाढीले क्षति पुर्याएको तातोपानी कुण्ड सफा गर्नेसम्मका काममा समुदाय जुटेको छ।
विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा देखिएको यही जनसहभागिता म्याग्दीको पुनःउत्थानको मुख्य आधार बनेको छ।
सडक खुलाउन काँधमा इन्धन
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक बाढी र पहिरोले ठाउँठाउँमा क्षतिग्रस्त भएको छ। सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बनेपछि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता र सामाजिक संस्थाका स्वयंसेवकले राहुघाट खोलादेखि बैसरीसम्म ७२० लिटर डिजेल बोकेर पुर्याए।
अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि २ हजार ५०० लिटर डिजेल सापटी दिएको छ।
“सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ,” बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भने। यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरूले राहुपारे–कुनौटा खण्डमा श्रमदान गरी पैदलयात्राका लागि भर्याङ राख्ने र डोरी तान्ने काम गरेका थिए।
विद्युत् सेवा सञ्चालनमा युवाको साथ
बाढीपहिरोले पोल ढालेपछि जिल्लाका धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको थियो। सदरमुकाम बेनीबाहिरका बस्तीमा युवा क्लबका पदाधिकारी र स्थानीय युवा विद्युत् लाइन मर्मतमा जुटेका छन्। स्थानीयले ढलेका पोल गाड्न र लत्रिएका तार तान्न सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति पुनः सञ्चालन भएको छ।
“समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत् आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ,” नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भने।
बजारको पहिरो पन्छाउँदै
बेनी नगरपालिका–८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पुर्याएको छ। तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रिएको छ। न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर जोखिममा छन्।
घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि टोल सफा गर्नु सामूहिक जिम्मेवारी बनेको छ। शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन्।
आइतबार पनि बाँस र काठ हटाउने काम जारी रह्यो। त्यसपछि ब्याकुहोलोडर र ट्याक्टर प्रयोग गरी पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ। “पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरेका छन्। त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ,” बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले भने।
दसैँअघि तातोपानी कुण्ड सञ्चालन गर्ने लक्ष्य
बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्डमा पनि म्याग्दी नदीको बाढी पसेर गेगर, माटो र बालुवा थुपारेको छ। कुण्डलाई दसैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान थालेका छन्। सिङ्गाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन्।
शनिबार साविक सिङ्गा गाविस–७ का ३४ जना, तल्लो सिङ्गाका २८ जना, सुर्केमेला–बास्कुना–थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए। कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ।
प्रवासी म्याग्देली र एनआरएनएको सहयोग
विपद्पछि जिल्लाभित्रका समुदायसँगै बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीबाट पनि सहयोग जुटेको छ। प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना)ले १५ लाख रुपैयाँ र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक संस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्था छिटो पार गर्न मद्दत पुगेको छ।
“सडक सञ्चालनदेखि विद्युत्का पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ,” उनले भने। “जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ।”
क्षतिको विवरण सङ्कलन हुँदै
पहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता छन्। बाढीपहिरोबाट म्याग्दीमा हालसम्म १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ। ३४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






