नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्यो, कोभिडपछिकै न्यून
- काठमाडौँ — नेपालका उत्पादनमूलक उद्योगको क्षमता उपयोग निरन्तर घट्दै गएको छ।
- नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.
काठमाडौँ — नेपालका उत्पादनमूलक उद्योगको क्षमता उपयोग निरन्तर घट्दै गएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.१ प्रतिशतमा सीमित भएको छ। यो भूकम्प र कोभिड महामारीपछिकै न्यून स्तर हो।
राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षहरूमा उद्योगको वार्षिक औसत क्षमता उपयोग घट्दो क्रममा छ। आर्थिक वर्ष २०७९/८० मा ४९.८ प्रतिशत रहेको क्षमता उपयोग २०८०/८१ मा घटेर ४८.३ प्रतिशतमा झरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो अझ घटेर ४४.५ प्रतिशत कायम भयो। चालु आर्थिक वर्षको पहिलो छ महिनामा भने ४२.१ प्रतिशतमा सीमित भएको छ।
विगत एक दशकको तथ्यांकमा प्राकृतिक तथा मानवीय विपद्का समयबाहेक उद्योगको क्षमता उपयोग ५० प्रतिशतभन्दा माथि रहेको देखिन्छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिनामा यो हालसम्मकै उच्च ६० प्रतिशत पुगेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत क्षमता उपयोग ५९.७ प्रतिशत थियो।
भूकम्प र नाकाबन्दीको प्रभाव परेको आर्थिक वर्ष २०७२/७३ को पहिलो छ महिनामा क्षमता उपयोग ३९.५ प्रतिशतमा झरेको थियो। कोभिड महामारीको सुरुवाती समय, आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिनामा पनि यो ३९.८ प्रतिशतमा सीमित भएको थियो। पछिल्लो तथ्यांकले उद्योग क्षेत्रको अवस्था ती विपद्का समयसँग मिल्दोजुल्दो देखाएको छ।
अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ को पहिलो अर्धवार्षिक अवधिसम्म १३१ उद्योग समेटिएका थिए। पछिल्लो समय अध्ययनको दायरा विस्तार गरी १५४ उद्योगको उत्पादन र क्षमता उपयोग नियमित रूपमा अनुगमन गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ। बजारको समग्र मागमा आएको संकुचन, जनसांख्यिक अवस्थाका कारण सिर्जित चुनौती र आयातित वस्तुसँगको प्रतिस्पर्धाले स्वदेशी उद्योगको क्षमता उपयोग घटेको राष्ट्र बैंकका अधिकारीहरूको विश्लेषण छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






