नारिनोमा अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
- कोलम्बिया ।
- कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
कोलम्बिया । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य सम्पन्न भएको छ।
नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै खानी भत्किएको जनाएको छ। घटनाले अनौपचारिक रूपमा सञ्चालन हुने खानीमा कामदारले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा भएको यो दोस्रो खानी दुर्घटना हो। यी दुई घटनामा गरी २७ जनाको मृत्यु भएको सरकारले जनाएको छ।
घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको थियो। नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै, “यसबाट पूरै परिवार प्रभावित भएका छन्,” भने।
कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा रहेको बताइन्छ। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय छन्।
कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्याउन अवरोध नगर्न आग्रह गरेको छ। कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ।”
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






