नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करण सम्पन्न
- लन्डन – नेपाललाई विश्वसनीय सूचना प्रविधि (आईटी) हबको रूपमा चिनाउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रोड शो यूके २०२६’ को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
- ब्रिटेनको लन्डनस्थित रेडिसन ब्लुमा आयोजित यस कार्यक्रममा नेपालबाट आएका झण्डै दुई दर्जन आईटी उद्यमीहरूले ब्रिटिश लगानीकर्ता, व्यवसायी तथा प्रविधि विशेषज्ञहरूलाई नेपालका आईटी क्षेत्रप्रति विश्वास, लगानी र साझेदारी गर्न आह्वान गरे।
लन्डन – नेपाललाई विश्वसनीय सूचना प्रविधि (आईटी) हबको रूपमा चिनाउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रोड शो यूके २०२६’ को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। ब्रिटेनको लन्डनस्थित रेडिसन ब्लुमा आयोजित यस कार्यक्रममा नेपालबाट आएका झण्डै दुई दर्जन आईटी उद्यमीहरूले ब्रिटिश लगानीकर्ता, व्यवसायी तथा प्रविधि विशेषज्ञहरूलाई नेपालका आईटी क्षेत्रप्रति विश्वास, लगानी र साझेदारी गर्न आह्वान गरे।
आउटसोर्सिङ र साझेदारी अवसरहरूको खोजीलाई लक्षित गरी आयोजित यस कार्यक्रममा नेपालका प्रविधि इकोसिस्टमको वर्तमान स्थिति र भविष्यको सम्भावनालाई विस्तृत रूपमा प्रस्तुत गरिएको थियो। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास–आइटी) को आयोजनामा भएको यस रोड शोमा नेपालका आइटी उद्यमीहरूले विश्वव्यापी ग्राहकहरूका लागि सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड वर्क आदि सेवा प्रदान गरिरहेको जानकारी दिए।
कार्यक्रममा नेपालका आईटी क्षेत्रको विकास र संभावनाबारे चर्चा गर्दै नास–आइटीका उपाध्यक्ष विभूषण विष्टले भने, “नेपालमा अहिले प्रत्येक वर्ष झन्डै १०,००० आईटी स्नातक उत्पादन हुँदै आएका छन्। २०२२ मा नेपालले झन्डै ५१ करोड अमेरिकी डलर बराबरको आईटी सेवाहरु निर्यात गरेको छ भने २०२६ सम्म त्यो रकम झन्डै ८० करोड डलरसम्म पुग्ने अपेक्षा गरिएको छ। नेपालको आईटी क्षेत्रले छिट्टै वर्षेनी १ अर्ब डलर बराबरको सेवा विदेश निर्यात गर्ने लक्ष्य लिएको छ।”
निर्देश द्वाले नेपाली कम्पनीहरूले अमेरिका, युरोप लगायत मुलुकका ठूला कम्पनीहरूसँग मिलेर काम गरिरहेको र ब्रिटिश कम्पनीहरूलाई पनि नेपाली कम्पनीहरूसँग सहकार्य गर्न आग्रह गरे। उनले भने, “नेपाली युवाहरू अंग्रेजी बोल्छन्, टाइम जोनको अन्तर धेरै छैन, र हामी तपाईंहरूसँग सहकार्य गर्न तयार छौं।”
ब्रिटिश विदेश, कमनवेल्थ र विकास मन्त्रालयको सहयोगमा भएको यस कार्यक्रममा ब्रिटिश राजदूतावासका व्यापार तथा लगानी विभाग प्रमुख अनुप श्रेष्ठले सूचना प्रविधि र नवप्रवर्तनलाई ब्रिटिश सरकारको प्राथमिकता मानिएको बताएका छन्। उनले नेपाली प्रविधि कम्पनीहरूलाई बेलायती बजारमा प्रवेश गर्न र व्यवसाय विस्तार गर्न आग्रह गरे।
लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालको युवा जनसंख्या र उच्चस्तरको आईटी साक्षरताले मुलुकको प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाएको बताए। “ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स २०२६ मा नेपाललाई उच्च स्थान प्राप्त भएको छ। नेपाली आईटी व्यवसायीहरू साझेदारको रुपमा विश्वव्यापी रूपमा काम गर्न तयार छन्,” उनले भने।
नेपाल सरकारका प्रविधि क्षेत्रका मुख्य नीतिहरू, जस्तै ‘बोर्डर लेस इकोनॉमी’ र ‘वेट लेस ट्रेड’ लाई प्राथमिकता दिने भएको उल्लेख गर्दै दूतावास प्रमुखले आईटी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको बताए। हाल बेलायत–नेपालबीच वार्षिक व्यापार रकम लगभग ३०० मिलियन पाउण्ड रहेको भए पनि यसलाई थप बढाउने सम्भावना रहेको छ।
अन्तर्राष्ट्रिय व्यापार र प्रविधि क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्न बेलायत नेपाल च्याम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले सम्झौता गरिसकेका छन्। साथै, नेपाली आइटी कम्पनीहरू बेलायतमा व्यवसाय सञ्चालन गर्ने संघर्ष, सफलता र अनुभवहरू साझा गर्दै आएका छन्।
डाक्टर भगवान ओझाले एआई र डेटा इन्जिनियरिङको बारेमा प्रस्तुतिकरण दिए भने, टिम लिडर रतिश बस्नेतले नेपालको प्रविधि क्षेत्रमा भइरहेको गतिविधि र भविष्यका योजनाहरूको बारेमा बताए।
नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा चिनाउने लक्ष्यसहित आयोजना गरिएको यस रोड शोले नेपालका प्रमुख ८५ भन्दा बढी आईटी कम्पनीहरूलाई विश्वव्यापी बजारमा थप प्रवेश गर्न प्रोत्साहन गरेको छ। यसअघि अमेरिका र अष्ट्रेलियामा समेत आयोजना भइसकेको यस रोड शो आगामी सेप्टेम्बरमा स्विट्जरल्यान्डमा आयोजना हुँदैछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






