प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
- काठमाडौं – प्रधानमन्त्रीको स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले यसलाई कडा आलोचना गरेका छन्।
- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त निर्णयलाई ‘नातावाद र कृपावाद’ को संज्ञा दिएका छन्।
काठमाडौं – प्रधानमन्त्रीको स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले यसलाई कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त निर्णयलाई ‘नातावाद र कृपावाद’ को संज्ञा दिएका छन्।
सांसद ढकालले सरकारको यस निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई ‘गैरविज्ञता र अनावश्यक कृपावाद’ को उदाहरणको रूपमा व्याख्या गरे। उनले भने, “प्रधानमन्त्रीले मुलुकलाई निकास दिन भूमिका खेलेकोमा सम्मान व्यक्त गर्नुपर्छ, तर जाँदाजाँदै भएका यस्ता ‘गल्ती’ सच्याउन आवश्यक छ। न त कुनै विज्ञता, न त अनुभव; मात्र प्रधानमन्त्रीको स्वकीय सचिव हुनुका आधारमा यस्तो जिम्मेवार निकायको नेतृत्व दिनु भनेको के हो?”
उनले यस निर्णयले आगामी दिनमा नेतृत्वको क्षमतामा समेत प्रश्न उठाउने चेतावनी दिएका छन्। “अबको प्रधानमन्त्रीले देश कायापलट गर्छु भन्छ, विज्ञ मान्छे राख्छु भन्छ—तर यस किसिमको निर्णयले त्यो कार्य सहज हुने छैन। यसले ५ वर्षसम्म नै हाम्रो र पार्टीका लागि बाधा बन्ने निश्चित देखिन्छ,” उनले थपे।
सांसद ढकालले राजनीतिमा नातावाद र कृपावादको अन्त्य आवश्यक भएको जोड दिँदै प्रधानमन्त्रीलाई आफ्नो निर्णय पुनः विचार गरी योग्य र विज्ञ व्यक्तिहरूलाई अवसर दिन आग्रह गरेका छन्। उनले भने, “यस प्रकारको महत्वपूर्ण नियुक्ति योग्यता र विज्ञताको आधारमा मात्रै हुनुपर्छ, न कि नातावाद र कृपावादको आधारमा।”
यस घटनाले राजनीतिक वृत्तमा गम्भीर चर्चा र आलोचनालाई जन्म दिएको छ। धेरैले सरकारको निर्णयलाई गैरव्यावसायिक र अनुचित मान्दै यसको पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






